काठमाडौं । समाजवादी पार्टी मंगलबार सरकारबाट बाहिरिएको छ । पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा लगेको संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरिदिएपछि समाजवादी पार्टी सरकार छाड्ने निर्णयमा पुगेको हो ।
सत्तारुढ नेकपा नेतृत्वको सरकारमा सहभागि भएको १९ महिनापछि मंगलबार उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाए । राजीनामा पत्रमा यादवले संविधान संशोधन लगायतका दुई बुँदे सहमतिबाट सरकार पछि हटेको तथा एकतर्फी रुपमा सहमति तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । यादवले हिजोको मन्त्रिपरिषद् बैठकमा आफूले संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरू सम्मिलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव अस्वीकार गरिएकाले सरकारमा बसिरहन औचित्य नभएको जनाएका छन् । उनले तत्कालिन संघीय समाजवादी फोरमसँग तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ साल जेठ १४ गते संविधान संशोधन लगायत आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरू सम्बोधन गर्ने शर्त सहित दुई बुदे सहमतीका आधारमा आफ्नो पार्टी सरकारमा सामेल भएको स्मरण समेत गराएका छन् । यादवसँगै पार्टीबाट सरकारमा सहभागी सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पनि आजै प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका छन् ।
करिब १ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री यादवसँग छलफल नै नगरी मन्त्रिमण्डल पुनर्गठन गरेदेखि नै यादवले सरकार छाड्ने अनुमान शुरु भएको थियो । मन्त्रिमण्डल पुनर्गठन गर्दा प्रधानमन्त्रीले उपप्रधानमन्त्री यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सारेका थिए भने स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरेका थिए । त्यही बेलादेखि समाजवादी पार्टीभित्र सरकारमा रहने वा नरहने बारे बहस चल्दै आएको थियो । उपप्रधानमन्त्री यादवले मन्त्रालय हेरफेर गर्नु प्रधानमन्त्रीको अधिकार भन्दै पूनर्गठनलाई सामान्य भएको प्रतिक्रिया दिए र नयाँ मन्त्रालयको जिम्मेवारी सम्हाले । तर पार्टीभित्रैबाट सरकार छाड्न उनलाई निरन्तर दवाब बढ्दै गयो । पार्टीले सरकार र नेकपासँग वार्ता गर्न एउटा उच्चस्तरीय वार्ता टोली समेत गठन गर्यो ।
सोमबारको बैठकमा उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा आफूले लगेको संविधान संशोधनका लागि विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरिदिएपछि भने यादव सरकारबाट बाहिरिने निर्णयमा पुगे । समाजवादी पार्टी सरकारबाट बाहिरिए पनि संसदमा सत्तारुढ नेकपाको बहुमत रहेकाले सरकारको भविस्यमाथि भने यसले कुनै असर गर्दैन ।































प्रतिक्रिया