‘प्रधानमन्त्रीले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा’: चित्रबहादुर केसी

‘प्रधानमन्त्रीले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा’: चित्रबहादुर केसी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनका निम्ति नभएको बताएका छन्।

सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका हुन् । चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको बताए । नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भए भने विदेशी शक्तिकेन्द्रहरुले हस्तक्षेप गर्न नसक्ने पनि उनको भनाइ छ ।

समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको बताए । आफूहरुले संविधानको निर्माणकालमै संविधानको विरोधमा संविधान जलाएको भएपनि संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ । यो संविधानमा भएका संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र मौलिक हकलाई टेकेर अघि नबढे प्राप्त उपलब्धी पनि गुम्ने भएकाले यो संविधानलाई टेकेर अघि बढ्नु पर्ने पनि उनले बताए ।

यस्तै नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको बताए । यसको परिक्षण गर्ने थलो अब अदालत भएकाले अदालतले यसको बैधानिकता, कानुनी पक्ष, औचित्य र सान्दर्भिकता सबै सर्वोच्च अदालतले निरुपण गर्ने उनको भनाइ छ । सर्वोच्च अदालतले निष्पक्षतापूर्वक तथा स्वतन्त्रतापूर्वक निर्णय गर्नेमा उनको विश्वास छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पार्टीसँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए । अविश्वासको प्रस्ताव आउने सम्भावनाको कारण विघटन गरिएको तर्क प्रधानमन्त्री ओलीले दिने गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले फट्याई गरेको बताए।

पूर्व सभामुख दमननाथ ढुंगानाले जनताको बलिदान र संघर्षको अपमान गर्ने राजनीतिक कदम अहिलेको प्रतिनिधिसभा विघटन भन्दा अर्को नभएको जिकिर गरे। प्रधानमन्त्री ओलीले शासकीय दम्भ देखाएको उनको भनाइ छ । संसद पुनर्स्थापना गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीलाई बहुमत, अल्पमतको कुनै अर्थ नरहेको बताए। प्रधानमन्त्री ओलीलाई एकलौटी चाहिएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीसँग आफूबाहेक अरुलाई कुर्सी नछोड्ने राजनीतिक अभिष्टता रहेको पनि उनले बताए । कार्यक्रममा बोल्दै सबै बक्ताहरुले संसद विघटनको कदमप्रति विरोध जनाउँदै पुनर्स्थापनामा जोड दिएका थिए।

Logo