काठमाडौं ।
महाधिवेशनका विस्तृत कार्यतालिका, विभाग गठन तथा भ्रातृ संगठनको नेतृत्व लगायतका विषयमा सहमती जुट्न नसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि स्थगित हुने सम्भावना बढेको छ ।
पार्टी कार्यालय, सानेपामा आज अपरान्ह १ बजेका लागि बैठक बोलाईएपनि शिर्ष नेताहरु कार्यालय पुगेका छैनन् । विवादित विषयमा सहमति जुटाउन संस्थापन र असन्तुष्ट पक्षका नेताहरु आज पनि आन्तरिक छलफलमा ब्यस्त छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा अहिले असन्तुष्ट पक्षका नेताहरुवीच छलफल चलिरहेको छ । बैठकमा पौडेलसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागि छन् । संस्थापन पक्षसँगको छलफल सहमतिउन्मुख रहेपनि मूलभूत विषयमा ठोस सहमति जुटिनसकेकाले आजको बैठक पनि स्थगित गर्ने कुरा भएको पौडेल निकट एक नेताले जानकारी दिए ।
वडादेखि केन्द्रसम्मको अधिवेशनको मिति समावेश गरिएको महाधिवेशनको विस्तृत कार्यतालिका केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नुपर्ने माग गर्दै पौडेल पक्षले केन्द्रीय समितिको २ वटा बैठक बहिस्कार गरिसकेको छ । सोमबारको बैठक भने सहमतिनिकट पुगेको भन्दै स्थगित गरिएको थियो । यसबीचमा संस्थापन र असन्तुष्ट पक्षहरूबीच विभिन्न चरणमा छलफलहरू भए पनि सहमति जुट्न सकेको छैन । यसअघि हिजो साँझ चाक्सिबारीमा उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहवीच भएको करिब २ घण्टा लामो छलफल पनि निष्कर्षविहिन भयो । पछिल्लो समय पूर्वमहामन्त्री सिटौलाले सहमति खोज्ने प्रयासमा दुवै पक्षका शीर्ष नेताहरूसँग छलफल तिब्र पारेका छन् ।































प्रतिक्रिया