काठमाडौं ।
कांग्रेसभित्रको जारी आन्तरिक विवाद मिलाउन भइरहेका छलफल सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ महाधिवेशन आयोजक समिति गठन र तरुण दलको समयावधि थपसँगै समितिलाई पूर्णता दिन छलफल सकारात्मक बन्दै गएको नेताहरूले बताए।
सहमति निर्माणका लागि संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गठन गरेको कार्यदल बैठक दिनहुँ बसे पनि टुंगोमा पुग्न सकेको छैन । मंगलबार साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको दाबी नेताहरूले गरेका छन्। बुधबार बोलाइएको केन्द्रीय समिति बैठक अघि ठोस सहमतिमा पुग्न सकिने विश्वास उनीहरूको छ। ‘चारवटै विषयमा छलफल भएको छ। छलफल सकारात्मक छ,’ पौडेल समूहबाट कार्यदल सदस्य हृदयराम थानीले भने, ‘कुरा बिग्रेन भने बुधबारसम्म सहमतिमा पुगिन्छ।’
कार्यदलबीच नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा करिब डेढ घण्टा छलफल चलेको थियो । महाधिवेशन कार्यतालिकाबारे दुवै पक्षबीच विवाद छैन । संस्थापन समूह अर्को वर्ष फागुनसम्म महाधिवेशन गर्ने अडानमा छ भने पौडेल समूहले मंसिरभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ।
यसअघि संस्थापन समूहले पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिएपछि मात्र महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने अडान राख्दै आएको थियो। असन्तुष्ट समूहले महाधिवेशन कार्यतालिका नल्याए केन्द्रीय समिति बैठकमा सहभागी नहुने भन्दै बहिष्कार गर्दै आएको छ। बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा पौडेल समूह अनुपस्थित हुँदै आएको छ। सोमबारको बैठकमा पनि पौडेल समूह नआएपछि सभापति देउवाले सहमतिका लागि भन्दै दुई दिन बैठक स्थगित गरेका थिए।
अन्नपूर्णबाट































प्रतिक्रिया