कांग्रेस विवादको सहमति खोज्न शीर्ष नेताबीच ‘कफी मिटिङ’

कांग्रेस विवादको सहमति खोज्न शीर्ष नेताबीच ‘कफी मिटिङ’

केन्द्रबिन्दु
0
Shares

  • प्रकाश लुईटेल ।
    काठमाडौं,

प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको विवाद सुल्झाउन दुई शिर्ष नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलवीच अहिले (शनिबार) विहान कफी मिटिङ हुँदैछ । शुक्रबार साँझ संस्थापन इतर पक्षका नेताहरुको बैठक चाक्सिबारीस्थित प्रकाशमान सिंहको घरमा चलिरहेकै बेला वरिष्ठ नेता पौडेललाई सभापति देउवाले फोन गरेर भने, “भोलि (शनिवार) विहान तपाईंको घरमा कफी खान आउँछु,” पौडेलले जवाफ फर्काए, “हुन्छ, आउनुस्, म कफी खुवाउँछु ।” पौडेललाई उद्धृत गर्दै उनी निकट श्रोतले भन्यो ।

दुई नेतावीच यति कुरा भएपछि चाक्सिबारीको बैठकले विवाद समाधानको टुंगो लगाउने जिम्मेवारी पनि शिर्ष नेताको कफी मिटिङलाई नै सुम्पियो । चाक्सिबारी बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अनुपस्थित रहेपनि उनि निकट गगन थापा लगायतका नेताहरm सहभागि थिए । गृह जिल्ला झापा रहेका पूर्वमहामन्त्री सिटौला भोलि आइतबार काठमाडौ फर्कने कार्यक्रम छ । कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीका अनुसार दुई शिर्ष नेताहरुवीच आज (शनिवार) विहान कुराकानी भएपछि आवश्यक परे दुवै पक्षका वार्ता समितिले छलफल गरेर विवादको टुंगो लगाईनेछ ।

कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका, विभागको संख्या, भ्रातृ संगठनको नेतृत्व लगायतका विषयमा दुई शिर्ष नेतावीच विवाद चर्केको छ । सभापति देउवाले आफूहरुलाई बेवास्ता गरी एकतर्फि ढंगले बैठक संचालन गर्न खोजेको भन्दै पौडेल पक्षले विहिबारको केन्द्रीय समिति बैठक बहिस्कार गरेको थियो ।

महाधिवेशनको कार्यतालिकालाई बैठकको प्रमुख एजेण्डा नबनाएसम्म बैठकमा सहभागी नहुने पौडेल पक्षको अडान र अन्तरिम संरचना समायोजनको काम नसकिएसम्म कार्यतालिकामा छलफल गर्न नसकिने सभापति शेरबहादुर देउवापक्षको अडान जारी रहेकै बेला दुई शिर्ष नेताहरुवीच हुन लागेको कफी मिटिङ’लाई उत्सुकतासाथ हेरिएको छ ।

कांग्रेस केन्द्रीय समितिको आगामी बैठक मंशिर २९ गतेका लागि तोकिएको छ । बैठकको तयारी गर्न दुवै पक्षका नेताहरू छुट्टाछुट्टै आन्तरिक छलफलमा व्यस्त छन् । यता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सकेसम्म सबैपक्षसँग सहमति गरेर अघि बढ्ने प्रयास भइरहेको बताए । शर्मा भन्छन, “यदि सहमति हुन सकेन भने बहुमतका आधारमै भए पनि अघि बढ्नुको विकल्प छैन ।” कांग्रेसको अघिल्लो कार्यसमिति बैठकले स्थानिय संरचना समायोजन पश्चात मात्र महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने निर्णय गरेको स्मरण गर्दै उनले भने, “उहाँहरुले त्यो निर्णयलाई विर्सेर कसरी बैठक बहिस्कार गर्न सक्नुभयो मैले बुझ्न सकेको छैन ।”

यता पौडेलनिकट केन्द्रीय सदस्य थानी भन्छन्, “उक्त निर्णय अनुसार त स्थानिय संरचनाको समायोजन कात्तिक मसान्तभित्रै सकाउनु पर्ने थियो ।” देउवा निकट रहेका प्रवक्ता शर्माको जवाफ छ, “उपनिर्वाचनका कारण निर्वाचन समितिले संरचना समायोजनको काम पुरा गर्न पाएन ।” पौडेल पक्षको धारणा सुनाउँदै थानी भन्छन्, “अब थोरै मात्र स्थानिय संरचनाको समायोजन बाँकी छ, त्यो बाँकी कामको जिम्मेवारी निर्वाचन समितिलाई दिएर महाधिवेशनको कार्यतालिकामा लागौं भन्ने हाम्रो कुरा हो ।” प्रवक्ता शर्मा भने आगामी पुषको मध्यतिर संरचना समायोजनको काम पुरा गरेपछि मात्र महाधिवेशनको कार्यतालिकाको एजेण्डा प्रभावकारी हुने बताउँछन् । संस्थापन इतर पक्षका नेताहरm भने यसलाई महाधिवेशनमा आफ्नो पकड बलियो बनाउन अपनाईएको रणनितिको रुपमा बुझ्छन । “नत्र किन कार्यकाल शुरु भएको २ महिना भित्र गठन गरिसक्नु पर्ने विभागहरु कार्यकाल सकिन २ महिना बाँकि रहँदा प्रस्ताव गरिन्छ, त्यो पनि संख्या बढाएर?” केन्द्रीय सदस्य थानी प्रश्न गर्छन ।

१३ औं महाधिवेशनबाट निर्र्वािचत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको ४ वर्षे अवधि आगामी फागुनमा सकिंदैछ । पार्टी विधानको दफा ४३ ले असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्म अवधि लम्ब्याउन सक्ने प्रावधान गरेको छ । यस्तै संविधानको राजनीतिक दल सम्बन्धी व्यवस्थामा ५ वर्षभित्र केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गरिसक्नुपर्ने प्रावधान उल्लेख छ । संविधानले विशेष परिस्थितिमा ६ महिना बढाउन सकिने व्यवस्था गरेको छ । संविधानको यही प्रावधानलाई टेकेर आफ्नो पदावधि डेढ वर्ष लम्ब्याउन खोजेको तथा विभागको संख्या थपेर महाधिवेशनमा आफ्नो पकड बलियो बनाउन खोजेको आरोप सभापति देउवामाथि संस्थापन इतर पक्षले लगाउने गरेको छ ।

Logo