काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव

काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जन सम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गरेको छ । काँग्रेसले विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पु¥याउने प्रस्ताव प्रस्तुत गरेको हो ।

विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकता अनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्था उल्लेख छ । पार्टी केन्द्रीय कार्यालयमा सानेपामा विहिबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको विधानको दफा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरुलाई परिमार्जन र पुनर्गठन गरी विधानकै दफा ३७ (२) अनुसार सो प्रस्ताव गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रस्तावित केन्द्रीय विभागमा सङ्गठन, सूचना, सञ्चार तथा प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, राज्य प्रशासन, आर्थिक नीति तथा योजना, अभिलेख, अनुगमन तथा मूल्याङ्कन, नेपाली जनसम्पर्क समिति समन्वय, सङ्घीय मामिला तथा प्रदेश समन्वय, संसदीय मामिला, संवैधानिक तथा कानून, स्थानीय तह समन्वय, महिला, तरुण, विद्यार्थी, जिल्ला सम्पर्क समिति समन्वय, पेशागत तथा बुद्धिजीवी, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था एवं सामाजिक सेवा, उद्योग–व्यापार, पर्यटन, निर्माण, यातायात तथा व्यवसाय समन्वय, कृषि तथा किसान, आदिवासी जनजाति र खेलकुद विभाग रहेका छन् ।

यसैगरी प्राकृतिक स्रोत, साहित्य, कला तथा संस्कृति, श्रम, वैदेशिक रोजगार समन्वय एवं आप्रवासन, फरक क्षमता समन्वय एवं उत्प्रेरणा, दलित, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, मुस्लिम, वन तथा वातावरण, तराई मधेश, वित्तीय संस्था तथा सहकारी समन्वय, पिछडिएको क्षेत्र समन्वय, विज्ञान तथा प्रविधि, भूपू सैनिक, अन्य पार्टी सम्पर्क र समन्वय, शुभेच्छुक संस्था समन्वय र अन्य भ्रातृ सङ्घ समन्वय गरी ४१ विभाग गठन गर्ने प्रस्ताव प्रस्तुत गरिएको हो ।

तरुण दलको समयावधि ६ महिना थप प्रस्ताव

बैठकमा उपनिर्वाचन अनुगमन समिति र केन्द्रीय प्रतिनिधिहरुबाट जानकारी एवं उपनिर्वाचनको समीक्षा, भ्रातृ सङ्घ एवम् शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रस्ताव प्रस्तुत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो । त्यस्तै नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदन सम्बन्धी प्रस्ताव र कालापानी लगायतको सीमा अतिक्रमण सम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिएको छ ।

साग खेलका विजेता खेलाडीमा बधाई

बैठकले हालै सम्पन्न दक्षिण एशियाली खेलकूदमा स्वर्ण लगायतका विभिन्न पदक प्राप्त गरी विजयी हासिल गरी मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न सफल सबै खेलाडीमा बधाई ज्ञापन गरेको छ । साथै नेपालको समग्र खेलकुदको प्रगति र खेलाडीहरुको व्यावसायिक जीवन सुनिश्चिताका लागि विशेष प्याकेज निर्माण गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घको हालै जेनेभामा सम्पन्न बैठकबाट कार्यकारी प्रमुखमा चितवन जिल्ला निवासी नेपाली सामाजिक अभियन्ता जगन चापागाईं निर्वाचित हुनुभएकामा बैठकले बधाई ज्ञापन गरेको छ । बैठकले धान्य पूर्णिमा, उधौली पर्व र योमरीपुन्ही पर्वले सामाजिक सद्भावना बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेको छ ।

संवैधानिक  परिषद्सम्बन्धी कार्यविधिप्रति ध्यानाकर्षण 

काँग्रेसले संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डित गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्तमाथि नै आघात पु¥याएको आरोप लगाएको छ ।

प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढङ्गले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्देशित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिलाई राजनैतिक पूर्वाग्रहका आधारमा लाञ्छित गर्ने, झुटो मुद्दा चलाउने गरी संवैधानिक आयोगजस्ता गरिमामय संस्थाहरुलाई दुरुपयोग गर्न सक्ने खतरालाई काँग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउन विधानको धारा ७२ को उपधारा ४ बमोजिम अन्तरिम समायोजनसम्बन्धी निर्देशिका कार्यान्वयन सम्पन्न भएको र बाँकी रहेको सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले सो सम्बन्धी जानकारी बैठकमा प्रस्तुत गरेको थियो ।

Skip This
Skip This
Logo