काँग्रेसद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

काँग्रेसद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार हुन गइरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षबाट आचारसंहिताको उल्लङ्घन भइरहेको आरोप लगाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आचारसंहिता उल्लङ्घनका सबै घटना र भय–त्रास चिरेर आफ्नो स्वविवेकले मतदान गर्न मतदातामा अपिलसमेत गरेको छ । पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको अन्तिम घडीमा अझ बढ्न सक्ने राज्य नियन्त्रित त्यस्ता गतिविधि रोक्ने सक्षमता प्रस्तुत गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो ।

आचारसंहिता विपरीत केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म चुनाव प्रचारमा संलग्न भएको, कयौँ स्थानमा सरकारी साधन–स्रोतको दुरूपयोग गरिएको, काँग्रेसका उम्मेदवार तथा अन्य कार्यकर्तामाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले भौतिक आक्रमण गरेको काँग्रेसको आरोप छ । निर्वाचनलाई आफ्नो पक्षमा अनुकूल बनाउने प्रयासमा कयौँ कर्मचारीलाई निर्वाचन क्षेत्रबाट अन्यत्र पठाउने र अन्यत्रबाट अनुकूलका कर्मचारी निर्वाचन क्षेत्रमा खटाउने जानकारी दिँदै उहाँले भन्नुभयो, “अरू बेला काममा ढिलासुस्ती तर अहिले कयौँ ठाउँमा रातारात डोजर चलाउने, सडक पीच गर्ने अनि योजना मै नभएका काम पनि चाँडै सम्पन्न गर्नेछौँ भनेर प्रलोभनमा पार्ने प्रयत्न गरिएको छ ।”

त्रिचन्द्र क्याम्पस प्रमुखमाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गर्दै प्रवक्ता शर्माले शुल्क वृद्धिका विरुद्ध आवाज उठ्नु सही छ तर सत्तारुढ नेकपा निकटका विद्यार्थीले क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गर्नु दुःखद् मात्रै होइन दण्डनीय भएको बताउनुभयो । त्रिचन्द्रमा गुरुमाथि आक्रमण गर्ने समूहले नै नेपाल कमर्श क्याम्पस, मिनभवनमा नेपाल विद्यार्थी सङ्घका सदस्यमाथि आक्रमण गरेर डुजाङ शेर्पा, सरोज तिमल्सीना र निरज शाहलाई घाइते बनाएको बताउँदै उहाँले घटनाका दोषीलाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो ।

Logo