लोकतन्त्रको रक्षा र न्यायका लागि काँग्रेसलाई मत दिनुस : सभापति देउवा

लोकतन्त्रको रक्षा र न्यायका लागि काँग्रेसलाई मत दिनुस : सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

दाङ,

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा र न्यायका लागि नेपाली काँग्रेसको पक्षमा मतदान गर्न सबैमा अपिल गर्नुभएको छ ।

पश्चिम दाङको श्रीगाउँमा आयोजना गरिएको चुनावीसभालाई सम्बोद्धन गर्दै उहाँले अहिलेको चुनाव सरकार बदल्ने नभई कम्युनिष्ट सरकारले राम्रो काम गरेका छैन भन्ने सन्देश दिनका लागि पनि नेपाली काँग्रेसले जित्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

सभापति देउवाले देशमा उपभोक्ता समितिको नामबाट लुटतन्त्र भइरहेको उल्लेख गर्दै अहिलेको सरकारले राष्ट्रवादको नारा लगाउँदै चुनाव जितेको हो तर त्यो राष्ट्रवाद कालापानी, लिपुलेकमा गएर अहिले लम्पसारवादमा परिणत भएको आरोप लगाउनुभयो ।

पश्चिम दाङको विकास नेपाली काँग्रेसको पालामा नै भएको उल्लेख गर्दै उहाँले दाङमा हुन लागेको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आफ्नो पार्टीले त्यागी, क्षमतावान् व्यक्तिलाई उम्मेदवार बनाएकाले उहाँलाई विजय गराउन आम मतदातालाई आग्रह गर्नुभयो ।

सभापति देउवाले आफ्नो पार्टीले महिला, आदिवासी, जनजातिलगायत सबै समुदायलाई समावेशी ढङ्गले समेटेको बताउँदै जनतालाई झुक्काएर भ्रममा पारेर चुनाव जित्ने पार्टी काँग्रेस नभएकाले राष्ट्रियता, समावेशी लोकतन्त्र, विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन सबैमा आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले जनताले दिएको विश्वासको दुरुपयोग गरेको आरोप लगाउँदै निष्ठालाई मूल्याङ्कन गरेर क्षमतावान् विकासप्रेमी नेपाली काँग्रसका उम्मेदवारलाई मतदान गरी जिताउनुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले देशमा भएका महत्वपूर्ण विकासका काम काँग्रेसको पालामा भएको बताउनुभयो ।

Logo