प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति गरेको मन्त्रिमण्डल पुनर्गठनका बिषयमा अहिले आरोप प्रत्यारोप भइरहेको छ। प्रतिपक्षी र सर्वसाधारणले मात्रै होइन सत्तारुढ नेकपाभित्रै यस बिषयमा चर्को बादबिबाद भइरहेको छ।
पूर्व मन्त्री प्रभु साहले सामाजिक संजालमा गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा मन्त्रिपरिषद पुनर्गठन गरेको आरोप लगाएका छन्। ‘कार्यसम्पादनको आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखीएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लज्जित भएकाछौ ।’ उनले लेखेका छन्।
नेकपा केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले पूर्वमन्त्री साहलाई सामाजिक संजालबाटै जवाफ दिएका छन् । ‘पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहको यो स्टाटस देख्दा लाज लागेको छ । मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो । तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ । कसैले उहॉसँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ ? पार्टीको अनुशासन आयोग भर्खरै बनेको छ । यस्ता अराजक र अनुशासनहीन अभिव्यक्तिप्रति ध्यान जान जरूरी छ । अँ, साच्चै काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र ? सभामुखमाथि त निर्मम रूपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप गर्दैन है ।’ उनले लेखेका छन् ।





























प्रतिक्रिया