कास्की,
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले नेपाली काँग्रेसले आगामी उप निर्वाचन आफ्नो पार्टीले जित्नुको विकल्प नरहेको बताउनु भएको छ । उहाँले मुलुकमा भ्रष्टाचार मौलाएकोसमेत उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेसको घरदैलो अभियान आज पनि जारी रहेको छ । पोखरा महानगरपालिका अन्तर्गत पर्ने ११ वटा वडामा मतदातासँग भेटघाट अभियान जारी रहेको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी गराउनुभयो ।
उपनिर्वाचनमा काँग्रेस उम्मेदवारलाई जिताउन आग्रह
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले सरकारलाई सही बाटोमा डो¥याउनका लागि उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गर्नुभएको छ ।
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा स्याङ्जा–पोखरा सम्पर्क समितिद्वारा बुधबार पोखरामा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षार्थ नेपाली काँग्रेसले उपनिर्वाचन जित्नुपर्ने दावी गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य धनराज गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि यो चुनाव काँग्रेसका पक्षमा हुनुपर्ने जिकीर गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जा–पोखरा सम्पर्क समाजका संयोजक पवन नेपाल, नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, पूर्वसांसद राजु थापा, नेत्री सरिता तिवारी, महासमिति सदस्य देवराज चालिसे लगायतका नेताहरुले यस पटक काँग्रेस उम्मेदवार खेमराज पौडेललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालमा सबैलाई नसमेटेका कारण विकास भएन : डा. राणा
सांसद डा आरजु राणा देउवाले नेपालमा सबैलाई समेटेर नलगेका कारण विकास नभएको बताउनु भएको छ ।
बुधबार कैलालीको टीकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रममा डाक्टर देउवाले नेपालमा सबैलाई नसमेटेकै कारण द्वन्द्व बढेको बताउनुभयो । “यही कारणले द्वन्द्व बढेको हो । जहाँ शान्ति हुन्छ, विकास पनि त्यही हुन्छ”, राणाले भन्नुभयो, “अब यहाँको विकास र शान्तिका लागि यहाँका नेता तथा अग्रजले शान्ति स्थापनाका लागि पहल गर्न जरुरी छ ।”
क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावल, महासमिति सदस्य फकिरसिंह कडायत लगायतले बोल्नुभएको थियो ।





























प्रतिक्रिया