इलाम,
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्ने बताउनु भएको छ । शुक्रबार इलाम सदरमुकाममा आयोजित आमसभामा वरिष्ठ नेता पौडेलले भूमि जोगाउन सरकारले पहल गरेमा सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।
भारतले केही समय अघि मात्रै सार्वजनिक गरेको ‘राजनीतिक नक्सा’का बारेमा बोल्दै पौडेलले वर्तमान सरकारले आफ्नो भूभाग जोगाउन चाँडो पहल शुरु गर्नुपर्ने उल्लेख गर्नुभयो । “हामीले अन्तर दलीय छलफलमा पनि भनेका छौँ, सरकारले प्रत्यक्ष रूपमा छलफल गर्नुपर्छ भनेर”, उहाँले थप्नुभयो, “देशको सबै सीमा क्षेत्रमा सीमा समस्या छ । त्यसका बारेमा पनि सरकारले आधिकारिक धारणा राख्नुपर्छ ।” उहाँले सांस्कृतिक, पहिचानको धनी भएकाले सीमा समस्या हटाउन नेपाली सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।
सुख दुःखमा साथ दिन्छु : उम्मेदवार पौडेल
यस्तै कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताका सुख दुःखमा साथ दिने भन्दै अहोरात्र आफू जनताका काममा लागिपर्ने बताउनु भएको छ ।
पोखरा महानगरपालिका–२० भलाममा शुक्रबार आयोजित घरदैलो कार्यक्रममा उहाँले जनताले उठाएका हरेक समस्याको समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उम्मेदवार पौडेलले बिहीबारदेखि पोखरा २० को साविक भलाम गाउँविकास समिति वडा नं १ बाट शुरु गर्नुभएको दुईदिने घरदैलो अभियान डाँडाखोर हुँदै आज मौजा, आँटीघर लगायतका क्षेत्रमा पुगेर सकिएको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
उम्मेदवार पौडेलले शुक्रबार मौजा आँटीघरमा पुगी १०६ वर्षीय आईतश्री दमिनीबाट आशिर्वाद लिनुभएको छ । अहिलेसम्म विभिन्न समय गरी ११ पटक मतदान गरिसकेको बताउँदै आईतश्रीले मत माग्न आउने उम्मेदवार जितेर गए पछि कोही पनि नफर्केको गुनासो गर्नुभयो ।
वडाको घरदैलो अभियान समापन कार्यक्रममा राष्ट्रियसभा सदस्य विन्दादेवी रानाले वर्तमान सरकारलाई सही बाटोमा हिँडाउन पनि काङ्ग्रेसले जित्नुपर्ने बताउनुभयो । उहाँले संविधानको मर्म र भावना अनुसार सरकार चल्न नसकेको उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य एवं प्रचार समितिका संयोजक विन्दुकुमार थापाले घरदैलोमा वर्तमान सरकारबाट जनता निराश भएको दावी गर्दै काङ्ग्रेसलाई जिताउन आग्रह गर्नुभयो । शनिबार पोखरा–११ वडा तथा आइतबार र सोमबार पोखरा ३३ भरतपोखरीमा घरदैलो गरिने चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।





























प्रतिक्रिया