आगामी मंसिर १४ गते हुने उप निर्वाचनको सरगर्मी बढ्दो छ । उपनिर्वाचन कार्यतालिका अनुसार आज केहीले उम्मेदवारी फिर्ता लिएका छन् भने निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको छ । यसै क्रममा आज बाग्लुङ निर्वाचन क्षेत्र नम्वर २ को ख मा रोचक दृश्य देखिएको छ ।
बाग्लुङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएका थिए । तर, नेकपा बाग्लुङका नेता शेरमान घर्तीले भने असन्तुष्टी जनाउँदै बागी उम्मेदवारी दर्ता गरेका थिए । स्थानीय नेताहरू दधिराम अर्याल प्रस्तावक र रिमबहादुर बिक समर्थकसहित उनले उम्मेदवारी दिएको दिनदेखि नै त्यस क्षेत्रको चुनावी रौनक थप रोचक बनिरहेको थियो ।
तर, घर्तीलाई आज उम्मेदवारी फिर्ता गराउने नेकपा बाग्लुङको तयारी थियो । बुर्तिबाङबाट सदरमुकाम पुग्न सडकबाट झण्डै तीन घण्टा लाग्ने भएपछि नेकपा बाग्लुङले प्रभु एयरको हेलिकप्टर मगाएको थियो । उनलाई बुर्तिवाङस्थित होटल दरबारबाट हेलिकप्टरमा राखेर सदरमुकाम पु¥याइएको थियो । आज दिउँसो १ बजेसम्म उम्मेदवरी फिर्ताको समय थियो । तर, बागी उम्मेदवार घर्ती कार्यालयमा पुग्दा उम्मेदवारी फिर्ता लिने समय घर्किसकेको थियो ।
नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले नेता घर्तीलाई हेलिकप्टरमा राखेर निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपनि उम्मेदवारी फिर्ता हुन नसकेको पुष्टी गरे । बागी उम्मेदवार बनेका घर्तीलाई बिहान केही नेताहरुले अन्यत्रै लगेर राखेपछि समयमा कार्यालय पुग्न नसकिएको बुझिएको छ ।
यसरी घटनाक्रम बुझेरै कोही व्यक्तिलाई अल्मलाउनुलाई अपहरणकैरुपमा लिइन्छ । घर्ती तत्कालीन माओवादीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा पराजित भएका थिए ।
यसअघि २०७४ सालमा तत्कालीन वाम गठबन्धनबाट विजयी भएका राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको मृत्यु भएपछि त्यहाँ उप निर्वाचन हुन लागेको हो ।





























प्रतिक्रिया