‘कुशासन र भ्रष्टाचार अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प’ : कमल थापा

‘कुशासन र भ्रष्टाचार अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प’ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

वीरगंज ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट अनि ब्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानू उपयुक्त विकल्प र अवसर भएको बताएका छन् ।

आइतबार पर्साको वीरगंजमा आयोजित विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको विषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने भन्दै सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबण्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको बताए । प्रचण्ड र ओलीको झगडा जनता र देश हितको लागि नभई भागबण्डा र स्वार्थमा केन्द्रित भएको उनले बताए ।

नेकपा भित्रको अन्तरविरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो । ब्यक्ती परिवर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिवर्तन गर्नुपर्नेमा जोड दिए । आफू राप्रपालाई सहयोग गर्नुस् भन्न आएको भन्दै थापाले भने, हामी आफैं देश बनाउन सक्छौं, राप्रपालाई विश्वास गर्नुस् हिन्दुराष्ट्र दिन्छौं, राजसंस्था दिन्छौ। विकास र समृद्धि दिन्छौं।

थापाले निरंकुश राजतन्त्र खोजेको नभई राजादेखि विप्लव, काङ्ग्रेस, कम्युनिस्ट, मधेशवादी सबै अट्ने ब्यवस्था राप्रपाको चाहना भएको विचार ब्यक्त गरे । कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता राजीव पराजुलीले मधेश र मधेसी जनताको हक हित र विकासको निमित्त राप्रपा नै आवश्यक भएको बताए । केन्द्रिय सदस्य नगिना यादव र जिल्ला अध्यक्ष सोमेश्वर यादव लगायतले बोलेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए । कार्यक्रमपछि जिल्ला केन्द्रीय सदस्य यादवको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

Logo