सिन्धुपाल्चोक,
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढङ्गले पेलेर जाने नीति लिएको आरोप लगाउँदै कडा रुपमा प्रतिवाद गर्ने बताउनु भएको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अन्तर्गत ठोकर्पास्थित बाघभैरव नमूना माविको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले सरकार दुई तिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिमा लागेको आरोप लगाउनुभयो । उहाँले त्यसको दृढताका साथ सशक्त ढङ्गले प्रतिवाद गर्ने जिकिर गर्नुभयो । भूकम्पबाट ध्वस्त संरचनाको पुनःनिर्माण कार्य चाडै सकाउन सरकारलाई आग्रह गर्दै सभापति देउवाले द्वन्द्वकाल र विभिन्न समयमा अन्यायमा परेका जनतालाई न्याय दिनुपर्नेमा जोड दिनुभयो ।
वडाअध्यक्ष नेत्रबहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा सांसद अग्नि सापकोटा र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । ०७२ को भूकम्पबाट क्षति पुगेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नौ करोड १८ लाख ७८२ मा सुविधा सम्पन्न २४ कोठे भवनको पुनःनिर्माण गरेको हो ।
अस्ताए सीपका पिता
तनहुँको ब्यास नगरपालिका–१ निवासी नेपाली काङ्ग्रेसका सक्रिय सदस्य एवं सीपका पिता हर्कबहादुर दरैको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । दरैको निधनसँगै पराम्परागत घरेलु उत्पादनका सीप लोप हुने अवस्थामा पुगेका छन् ।
बाँसको चोयाबाट बन्ने डोको, छत्री, टोपी, नाम्लो लगायतका सामग्री बनाउन नयाँ पुस्ताले सीप अवलम्बन नगरेका कारण लोपोन्मुख हुने अवस्थामा पुगेको छाब्दी दोभान विक्रम दाहसंस्कार समितिका उपाध्यक्ष होमबहादुर बस्नेतले बताउनुभयो । गाउँमा शुरुमा रहटेपीङको अवधारणा ल्याएर निर्माण गर्नुभएका दरै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।
पदको कुनै लोभ नराखी समाजसेवी भावनाले काम गर्ने स्वभाव दरैमा रहेको नेपाली काङ्ग्रेस वडा नं १ का वडासभापति मणिजङ्ग बस्नेतले बताउनुभयो । दुई महिनाअघिसम्म घरमा बसेर बाँसका सामग्री बनाउँदै आउनु भएका दरै तीजपर्व अघिदेखि फोक्सोको अर्बुद रोगबाट ग्रसित भई उपचार गराउँदै आउनुभएको थियो । मृतकका तीन छोरा र दुई छोरी छन् ।
श्रद्धाञ्जलिमा वडा प्रतिनिधिदेखि सांसदसम्म
दरैको निधन पश्चात छाब्दी दोभान विक्रम दाहसंस्कार शव दाहस्थलमा अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न वडाप्रतिनिधिदेखि राष्ट्रिय सभा सदस्यसम्मका पदाधिकारी पुग्नुभएको थियो । एक मिनेट मौन धारणासँगै पार्टीका सक्रिय सदस्य दरैको पार्थीव शरीरमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेश सदस्य दोबाटे विश्वकर्मा, काँग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपानेले पार्टीको झण्डा ओढाउनु भएको थियो ।
काँग्रेसका जिल्ला सचिव विश्व बाँस्तोला, वडाध्यक्ष खरसिं दरै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ लगायतका पदाधिकारीले दरैको निधनप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभएको थियो ।





























प्रतिक्रिया