उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तर्कलह अन्त्य हुन्छ : सभापति देउवा

उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तर्कलह अन्त्य हुन्छ : सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताउनु भएको छ । आइतबार कार्यकर्तासँग छलफल गर्दै उहाँले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उहाँको भनाइ थियो । पार्टीभित्रको आन्तरिक कलहका विषयमा कार्यकर्ताको जिज्ञासापछि सभापति देउवाले भन्नुभयो, “उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।”

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र काङ्ग्रेस दुई पार्टी जस्तो भएका कारण हार बेहोर्नु परेको भन्दै उहाँले उपनिर्वाचनमा यस्तो भए कारवाही गरिने चेतावनी दिनुभयो । अहिलेको निर्वाचनमा सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नुपर्ने समयमा काङ्ग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको सभापति देउवाले बताउनुभयो ।

स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको बताउँदै उहाँले सङ्घ र प्रदेशमा हुने निर्वाचनका लागि आज साँझ बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाउने बताउनुभयो । जनता माझ लोकप्रिय नेतालाई उम्मेदवार बनाइने उहाँको जिकिर थियो । काङ्ग्रेसको जनमत अहिले पनि नघटेको बताउँदै उहाँले जनमतको कदर हुने गरी काम गरिने विश्वास व्यक्त गर्नुभयो । भ्रातृ सङ्गठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

काङ्ग्रेस बलियो शक्ति बन्ने कोइरालाको जिकिर

नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले काङ्ग्रेस आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने जिकिर गर्नुभएको छ । पत्रकारसँग आइतबार कुराकानी गर्दै उहाँले काङ्ग्रेसलाई कमजोर सम्झनु मुर्खता भएको दावी गर्नुभयो ।

उहाँले प्रजातन्त्रमा विवाद हुन्छ, गुटउपगुट हुन्छ तर जनतालाई दुःख पर्दा काङ्ग्रेस एक ठाउँमा हुने गरेको बताउनुभयो । काङ्ग्रेस मिलेर जाँदा कुनै शक्तिले पनि जित्न नसक्ने कोइरालाले दाबी गर्नुभयो । निर्वाचनपछि काङ्ग्रेस बलियो बन्दै गएको बताउँदै उहाँले भन्नुभयो, “जुन अवस्थामा काङ्ग्रेस थियो, त्यही अवस्थामा काङ्ग्रेसलाई फर्काउने प्रयत्नमा हामी रहेका छौँ ।”

Skip This
Skip This
Logo