काठमाडौं,
देशका सबै राजनीतिक दलले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यका लागि हुने उपनिर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आयोगमा भएको उपनिर्वाचनको तयारी तथा आचारसंहिताका सम्बन्धमा भएको छलफलमा १७ राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालनाको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सरकारले पनि निर्वाचन आचारसंहिता पालना गर्दैै सरोकारवालाहरूबाट पनि त्यसको उल्लङ्घन हुन नदिने दृढता व्यक्त गरेको छ । उक्त छलफलपछि सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाली काङ्ग्रेसका एनपी साउद, समाजवादी पार्टीका शिवजी यादव, राष्ट्रिय जनता पार्टीका सुरेन्द्र झा लगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
बैतडीमा निर्वाचन अधिकृत तोकिए
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा पनि निर्वाचनको माहोल तातेको छ । विभिन्न राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको टुङ्गो लगाउँदै छन् भने जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो आन्तरिक तयारी थालेको छ ।
निर्वाचन आयोगले बैतडीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसमेत तोकेको छ । जिल्ला अदालत बैतडीका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ । यसका साथै टेकबहादुर थापा र टेकराज जोशी निर्वाचन अधिकृत नियुक्त गरिएको बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत रहनुभएका भण्डारीलाई सुर्नयामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो भने दोगडाकेदारमा टेकबहादुर थापा र पुर्चौडीमा टेकराज जोशीलाई निर्वाचन अधिकृत तोकिएको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिका–४, पुर्चौडी नगरपालिका–४ र सुर्नया गाउँपालिका–१ का उपनिर्वाचन हुँदैछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएसँगै कात्तिक २० गते सम्बन्धित स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनसम्बन्धी गतिविधि अगाडि बढाउने भएका छन् ।
यसैबीच उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले तीनवटै वडामा आफ्ना उम्मेदवार छनोट गरिसकेको छ भने नेपाली काङ्ग्रेसले दोगडाकेदार–४ मा मात्रै आफ्ना उम्मेदवार सिफारिस गरेको छ । यसका साथै अन्य साना दलले पनि उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरिरहेका छन् ।





























प्रतिक्रिया