प्रदेश नं.१ : तीन जना मन्त्रीद्वारा सामुहिक राजीनामापछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

प्रदेश नं.१ : तीन जना मन्त्रीद्वारा सामुहिक राजीनामापछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

प्रदेश नं. १ का तीन जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन् ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजीनामा दिएका हुन्।

मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए । यस लगत्तै तीन मन्त्रीको सामुहिक राजीनामा आएको हो । प्रचण्ड–माधव पक्षका आङ्बोलाई पदमुक्त गरेपछि सोही पक्षका तीन मन्त्रीले पनि राजीनामा दिएका हुन् ।

यसैबीच आजै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । प्रदेश नं. १ मा नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो । यस समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । ‍‍‍

अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थकमा लक्ष्मण तिवारी रहेका छन् । यससँगै दाहाल–नेपाल समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने भएको छ ।

प्रदेश नं. १ मा ९३ सदस्य छन् । जसमा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना छन् ।

Logo