प्रधानमन्त्रीले संसदमा प्रयोग गरेको असंसदीय शब्द अझै हटेन

प्रधानमन्त्रीले संसदमा प्रयोग गरेको असंसदीय शब्द अझै हटेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा छ महिना अघि बोलेको असंसदीय शब्द अझै हटाइएको छैन । तत्कालीन सभामुख कृष्णबहादुर महराले नै प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द हटाउनका लागि निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गत वैशाख २४ गते नीति तथा कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने बेलामा भनेका थिए, ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद, आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नको जवाफ प्रस्तुत गर्छु।’ सो भनाइपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसलाई रेकर्डबाट हटाउनु पर्ने भन्दै नाराबाजी गरे पनि सभामुखले संसद्को कारबाही अघि बढाएका थिए।

नाराबाजीबीच नै नीति तथा कार्यक्रम पारित भएको थियो। सभामुख महराले तीन दिनपछि वैशाख २७ मात्र प्रधानमन्त्रीले बोलेको असंसदीय शब्द हटाउन निर्देशन दिएका थिए । प्रतिपक्षी सांसद्ले पनि होहल्लाको क्रममा असंसदीय शब्दको प्रयोग गरेका थिए । संसद्को रेकेर्डिङ शाखामा प्रतिपक्षीले होहल्ला गरेको रेकर्ड नसुनिएकाले उनीहरूले बोलेको स्वतः हटेको छ।

तत्कालीन सभामुख महरा यौन काण्डमा मुछिएपछि अहिले सभामुख पद खाली छ । असोज १३ गते उनले राजिनामा दिएपछि यो शब्द हटाउने कार्य झन् अन्योलमा परेको छ। प्रधानमन्त्रीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्ति’ भन्ने प्रधानमन्त्रीको वाक्यप्रति थियो ।

सो दिन नेपाली कांग्रेसका सांसदले नियमापत्ति गर्दै होहल्ला गर्न थालेपछि प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी सांसदबीच जुहारी नै चलेको थियो । नाराबाजीबीच प्रधानमन्त्रीले जवाफ तुरुन्तै टुंग्याएका थिए।
नागरिकबाट

Logo