‘चिनियाँ नाकाका कारण व्यवसायीले धेरै दुःख पाए’ : चेम्बर

‘चिनियाँ नाकाका कारण व्यवसायीले धेरै दुःख पाए’ : चेम्बर


काठमाडौं ।

चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्शले गम्भिर चिन्ता व्यक्त गरेको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको गुनासो गरे । ‘पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै नाकामै थन्किएको छ, यस्तो तरिकाबाट कसरी दुई देशबीचको व्यापार चल्छ ?’ अध्यक्ष श्रेष्ठले प्रश्न गरे ।

करोडौं मूल्य बराबरका सामानहरु चीनतर्फ नाकामा कुहिन लाग्दा व्यवसायीहरु पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताए । ‘कोरोनाको बहानामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो, कि नाका बन्द गरोस् कि व्यापार सहज बनाओस्,’ अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्धा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्धा नछोड्न आर्थिक पत्रकारहरुलाई आग्रह गरे । कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक उर्जा चाहिएको बेला राजनीतिक अन्यौल बढ्दा व्यवसायीमा चिन्ता थपिएको पनि चेम्बरले जनाएको छ ।

Logo