जनकपुर । जनकपुर विमानस्थल तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद कुमार साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान थाल्न अदालतले आदेश दिएको छ ।
जनकपुरस्थित बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद साहलाई जिल्ला अदालत धनुषाले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
मंगलबार पक्राउ परेका साहलाई बुधबार बिहान म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतका न्यायाधीस तिर्थराज केसीको इजलासले चार दिनको म्याद थप गरेको श्रेस्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए । सांसद साहलाई प्रहरीले अनुसन्धानको लागि १० दिनको समय मागेको थियो ।
गत सोमबार प्लेन ढिलो भएपछि सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए । तोडफोड गरेको भोलिपल्ट उनी काठमाडौंबाट पक्रा परेका थिए ।
यता सांसद साहको रिहाईको माग गर्दै राजपा नेपालका कार्यकर्ताहरु आन्दोलन थालेका छन् । उनीहरुले बुधबार बिहान सांसद साहको रिहाइको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा एक घण्टा चक्काजाम गरेका छन् ।































प्रतिक्रिया