काठमाडौं,
नेकपाले सभामुख पद नछोड्ने भएको छ । कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ।
‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन ।’
संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै एक पद छोड्नु पर्नेमा नेकपाले अनेक बाहाना गरेको आरोप लगाउँछन् । ‘सभामुख वा उपसभामुख मध्ये उहाँहरूले एक पद पहिल्यै छोडनु पथ्र्यो,’ अधिकारी भन्छन्, ‘त्यतिबेला अनेक बाहाना बनाउनुभयो । अब पनि बाहाना बनाउनुभयो भने संविधानमाथि आक्रमण हुन्छ।’
प्रतिनिधिसभाको निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तत्कालीन एमालेबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए । तर दुवै पार्टी एकतापछि एकै दलको सभामुख र उपसभामुख बनेको भन्दै कांग्रेसले विरोध जनाएको थियो । नेकपाले कुनै एक पद नछोडेपछि त्यस सम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
उपसभामुखको राजीनामाबारे अन्योल
सभामुख पद रिक्त रहेकाले उपसभामुखले कसलाई राजीनामा दिने भन्ने अन्योल छ। संविधानमा सभामुख र उपसभामुखले पदबाट राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था रहे पनि दुवैले कसलाई राजीनामा दिने भन्नेमा मौन छ।
प्रतिनिधिसभा नियमावलीले सभामुखले उपसभामुखलाई र उपसभामुखले सभामुखलाई सम्बोधन गरेर आफ्नो पदबाट लिखित राजीनामा दिन सक्ने व्यवस्था गरेको छ। नियमावलीको नियम २११ को (१) मा सभामुखले उपसभामुखलाई सम्बोधन गरी पदबाट राजीनामा दिन सक्ने व्यवस्था छ। उपसभामुख वा कुनै सदस्यले पदबाट राजीनामा दिँदा सभामुखलाई सम्बोधन गर्नुपर्ने हुन्छ।
अन्नपूर्णबाट































प्रतिक्रिया