प्रचण्ड-माधव समुहका तीन नेताले बल्खु पुगेर भने, ‘केपी ओली सच्चा कम्युनिष्ट होइन रहेछन्’

प्रचण्ड-माधव समुहका तीन नेताले बल्खु पुगेर भने, ‘केपी ओली सच्चा कम्युनिष्ट होइन रहेछन्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रचण्ड–नेपाल समूहका तीन नेता बल्खु स्थित पार्टी कार्यालय पुगेर कम्युनिष्ट एकताको सन्देश दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय समिति बैठक सकिए लगत्तै बल्खु पुगी मदन भण्डारीको शालिकमा माल्यार्पण गरी कम्युनिष्ट एकताप्रति प्रतिवद्धता जनाएका हुन् । केन्द्रीय समिति बैठकबाट वर्तमान अवस्थामा कम्युनिष्ट एकताको ऐतिहासिक आवश्यता रहेको ठहर गरेका नेताहरु सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिन बल्खु पुगेको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफूहरुनै वास्तविक नेकपा भएको भन्दै सबै कमिकमजोरी सच्याएर एकतावद्ध हुन सबैलाई आव्हान समेत गरे ।

अध्यक्ष दाहालले लोकतन्त्र र गणतन्त्र विरुद्धको षडयन्त्रको रुपमा असंवैधानिक तरिकाले संसद विघटन गरिएकोले त्यस विरुद्ध कम्युनिष्ट एकता आवश्यक रहेको प्रतिक्रिया दिए । उनले अहिले सम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्धको षडयन्त्रको रुपमा संसद विघटनलाई लिईएको भन्दै त्यसलाई सफल हुन नदिने संकल्प गरे ।

प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनतालाई प्रतिनिधिसभाको विघटन विरुद्धमा एकजुट हुन आग्रह गरे। प्रधानमन्त्री ओलीबाट राजाको निरंकुश कदम चालेको भन्दै त्यसको भत्र्सना गरे।

उनले भने, ‘अहिले सिङ्गो राष्ट्र नै अनिश्चितताको भूमरीमा परेको छ । त्याग, तपस्या र बलिदानबाट ल्याएको संविधान, जनप्रतिनिधिहरुबाट निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधानलाई कुल्चिने काम भएको छ । त्यसको प्रावधानका विपरित, भावनाका विपरित, मर्मका विपरित प्रतिनधिसभालाई विघटन गर्ने अत्यन्तै गलत कदम प्रधानमन्त्री केपी शर्मा ओलीबाट चालिएको छ । हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौं । प्रतिनिधि सभालाई कुनैपनि तानाशाही तरिकाबाट विघटित गर्न पाईंदैन । यो ठिक राजाको निरंकुश कदम जस्तै अर्को प्रतिगामी कदम हो । यसको हामी घोर भत्र्सना गर्दछौं ।’

उनले जग्गा खरिद, भवन निर्माण, केन्द्रीय कार्यालय बनाउने सवालमा आफ्नो भावना जोडिएको भन्दै नेकपाको मुल धार र मुल शक्ति आफूहरु नै भएको भन्दै गल्ति सच्याएर सबैलाई मुलधारमा जोडिन आव्हान गरे ।

त्यसैगरी वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिष्ट नै नभएको टिप्पणी गरे । प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद विघटन गरेर अपराध गरेको टिप्पणी गरे।

उनले भने “मत भिन्नता पार्टीभित्र जहिले पनि हुन्छ । मतभिन्नता हुनु सामान्य कुरा हो । मतभिन्नतालाई नीति र विधि अनुरुप सञ्चालन गर्नुपर्छ र समस्याको समाधान गर्नु पर्छ । तर कमरेड केपी ओली वास्तवमा कम्युनिष्ट नै भईसक्नु भएको रहेनछ । उहाँले पार्टीका विधि नै मान्नुभएन । पालना गर्नु भएन । अनुशासन पनि मान्नुभएन । अनि पार्टी भित्रका मतभेदको नाउँमा संसदको विघटन गर्नुभयो । यो अत्यन्तै ठूलो अपराधको कुरा हो । संविधान विरोधी अपराध हो । लोकतन्त्र विरोधी अपराध हो । यो जनादेशको विरुद्धमा छ । जनताको भावना विरुद्ध छ । राष्टहित विरुद्ध छ । वास्तविक नेकपा यही हो । आधिकारीक यही हो ।हामी यसलाई नया ढंगले एकतावद्ध गर्ने र पुर्नगठन गर्ने हो ।”

Logo