काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकारी अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको विहीबारको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो । यद्यपि प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन । यसअघि नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय भएको थियो तर, श्रेष्ठलाई पनि पार्टीबाट भने हटाइएको छैन ।
यसैगरि ओली समूहले पार्टी विभाजनपछि रिक्त स्थानहरुको पूर्णता दिने काम पनि सुरु गरेको छ । बिहीबारकै बैठकले प्रचण्ड र माधव समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाएको छ । प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ । यता, प्रदेश २ मा सत्यनारायण मण्डल यथावत रहेका छन् ।
यस्तै बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र कर्णाली प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेश इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल यथावत छन् । प्रचण्ड छोडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीलाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।
यसैबीच, लामो समयको तटस्थता तोड्दै अन्ततः नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल केपी ओलीको पक्षमा उभिएका छन् । केहीदिनसम्म दुवै पक्षका भेला बैठकहरुमा सहभागी नभएका बादल बिहिबार ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटारमा पुगेसँगै उनले प्रचण्ड–माधवको साथ छोडेको प्रस्ट भएको हो ।
आजको बैठकमा मन्त्री थापाले नेकपाबाट एउटा गुट अलग भएको बताउँदै अब, मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन आफू केपी शर्मा ओलीको साथमा उभिएको पनि प्रष्ट पारेका छन् ।































प्रतिक्रिया