काठमाडौं,
जनआन्दोलन ०४६ का कमाण्डर एवं सर्वमान्य नेता स्व. गणेशमान सिंहको २३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी उनको सम्झनामा मनाइँदैछ । यसै सन्दर्भमा गणेशमान सिंह फाउण्डेसनले बिहान शोभा भगवतीमा रहेको उनको प्रतिमामा माल्यार्पण सहितको कार्यक्रम आयोजना गर्दैछ ।
आज सिंहको स्मृतिमा विभिन्न कार्यक्रम गरिदैछन् । वि.सं. १९७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो । लौह पुरुषका नामले समेत चिनिएका उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए । वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका गणेशमान सिंह कांग्रेसले लिएका हरेक कदममा वीपीसँगै थिए ।
राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कू सम्म उनीहरु सँगसँगै रहे । जेल तोडेर भारत प्रवासमा रहँदा होस् वा मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्कदा या २०३६ सालको जनमत संग्रहमा सहभागि हुँदा मुद्दामाथि विमति रहँदा पनि वीपीसँग उनको साथ कहिल्यै टुटेन ।
२०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाएका थिए ।
०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाएका थिए । त्यसो नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उनको धारणा थियो ।
तर सिंहका ती कालजयी विचार र सुझावलाई विपक्षीले त मानेनन् मानेनन् आफ्नै दल नेपाली कांग्रेसले पनि सम्मान गरेन ।जसका कारण विरक्तिएर जीवनको उत्तरार्धतिर उनले आफैंले स्थापना गरी हुर्काएको पार्टी परित्याग गरेको घोषणा समेत गरेका थिए ।































प्रतिक्रिया