लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : देउवा

लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस अछाम काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको जय नेपाल स्मारिका विमोचन एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार सम्बन्धी विधेयकका माध्यमबाट प्रजातान्त्रिक मूल्य, मान्यतामाथि प्रहार गर्न खोजेको आरोप लगाउनुभयो ।

जनताको प्रजातान्त्रिक अधिकार हनन् नहुने गरी विधेयकमा व्यवस्था गर्न पनि संसदमा प्रमुख प्रतिपक्षी दलको नेता रहनुभएका नेता देउवाले सरकारसँग माग गर्नुभयो । “प्रजातान्त्रिक अधिकारमाथि अंकुश लगाएर विधेयक पारित गर्न दिँदैनौँ, जबर्जस्ती गर्न खोजे सबै मोर्चाबाट आन्दोलनमा उत्रन्छौँ”, उहाँले भन्नुभयो ।

पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले कुरा गर्न सिपालु सरकारमा काममा शून्य देखिएको आरोप लगाउनुभयो । सरकारको डेढ वर्षे कार्यकालमा विकास, निर्माण लगायत धेरै विषयमा भेदभाव गरिएको उहाँको भनाइ थियो ।

केन्द्रीय सदस्य नारायणप्रकाश साउदले संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षीलाई पाखा लगाएर पदाधिकारी नियुक्ति गर्ने परिपाटीलाई प्राथमिकता दिई गैरप्रजातान्त्रिक आचरण देखाएको बताउनुभयो । कार्यक्रममा सांसद रामबहादुर विष्टलाई एनडी प्रभाष चटौत सम्मान, पूर्वसभासद् डा आरजु राणा देउवालाई द्वारिकादेवी ठकुराठी सम्मान, पूर्वसांसद बलबहादुर कुँवरलाई सिद्धराज ओझा सम्मान, परशुराम नगरपालिका जोगबुढा डढेल्धुराका नगर प्रमुख भीमबहादुर साउदलाई सभापति देउवाले सम्मान गर्नुभयो ।
रासस

Skip This
Skip This
Logo