सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईको आज ९७ औं जन्मजयन्ती मनाईंदै

सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईको आज ९७ औं जन्मजयन्ती मनाईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज ९७ औं जन्मजयन्ती मनाईँदैछ । कोरोना प्रभावका कारण यस वर्ष विगत जसरी भने कुनै औपचारिक कार्यक्रम गरिएको छैन । उनको सम्झनामा काँग्रेसले सधैं पुष ८ लाई विशेष दिनका रुपमा मनाउँदै आएको थियो ।

को हुन् कृष्णप्रसाद भट्टराई ?

हरेक राजनीतिक पार्टीका आआफ्नै इतिहास छन् । नेपालको इतिहासमा नेपाली काँग्रेस पुरानो पार्टी हो । स्थापनादेखि अहिले सम्मको इतिहास हेर्ने हो भने सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली काँग्रेस नै हो । आफू सत्तामा रहँदा काँग्रेसले के गर्न सक्यो वा सकेन त्यो इतिहास साक्षी छ । जतिबेला काँग्रेसको जन्म भयो, आजका दिनसम्म आइपुग्दा धेरैले नेतृत्व पनि गरे । ती सबै नेतृत्व गर्नेहरु सक्षम भए त ? अनि आजको काँग्रेसले हिजो योगदान गर्ने नेतृत्वहरुलाई बिर्सिएकै हो त ? आज हामी काँग्रेसका ती दिवंगत नेतृत्वलाई सम्झँदै छौं । जसको काँग्रेसमा अझै अभाव छ । र रहन्छ सधैं सधैं । उनी हुन् कृष्णप्रसाद भट्टराई ।

कृष्णप्रसाद भट्टराई नेपालका २९ औं प्रधानमन्त्री हुन् । उनको जन्म जन्म विसं.१९८१ पौष ८ गते भएको थियो । कृष्णप्रसाद भट्टराईको राजनीतिक नाम किशुनजी हो ।

नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुर्नस्थापना पछिका पहिलो प्रधानमन्त्री थिए, उनी । भट्टराई वि.सं. २००३ सालमा नेपाली काँग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न थिए । यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर तथा उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । भट्टराई वि.सं.२०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए ।

उनी विसं.२०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । नेपाल अधिराज्यको संविधान २०४७ को निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व यिनले सफलतापूर्वक बहन गरेका थिए । तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भने काठमाडौंबाटै पराजित भए । पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए ।

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे । हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ । आजीवन नेपाली काँग्रेसमै रहेर राजनीतिमा होमिएका उनको मृत्यु २०६७ फागुन २० गते भएको थियो । काँग्रेसमा उनको अभाव अहिले पनि उत्तिकै छ ।

Skip This
Skip This
Logo