काठमाडाैं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमप्रति गल्ती स्वीकारेमा यथोचित जिम्मेवारी दिन अझै तयार रहेको बताएका छन् । नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समितिका सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले भने, “संसद् भङ्ग गर्न गल्ती भयो, साथीहरुको भावना समेट्न सकिन, म पश्चात्ताप गर्छु भनेर आउन चाहनु भयो भने उहाँलाई स्वागत गर्न अहिले पनि हामी तयार छौँ ।”
प्रधानमन्त्री ओलीले पश्चाताप नगरेमा स्थायी समितिको निर्णय अनुसार उनीमाथि अनुशासनको कारवाही हुने अध्यक्ष दाहालले स्पष्ट गरे । वर्तमान संविधानको मर्म र भावनाविपरीत अख्तियारको दुरुपयोग गर्दै प्रधानमन्त्रीबाट संसद् भङ्ग गरिएको जिकिर गर्दै उनले संविधानतः संसद् भङ्ग भएको होइन, भङ्ग भएको ओलीको सरकार मात्र हो, विघटन भएको सरकार हो, संसद् होइन भनी बहुसङ्ख्यक पूर्वसदस्य अदालत गएर भन्नु पर्ने अवस्था आएको बताए। अध्यक्ष दाहालले भने, “हामी संसद्को प्रमुख पार्टी हुनुको नाताले विघटन अवैध छ भनेर कानूनी उपचार खोजीसँगै सङ्गठन र समाजमा पनि सन्देश फैलाउनु पर्छ ।”
प्रधानमन्त्रीको कदमलाई अदालतले संविधानको प्रावधानको गहिरो अध्ययन गरी जनभावना र राजनीतिक दलको भनाइ बुझेर निर्णय गर्ने विश्वास उनले व्यक्त गरे। जनतालाई आन्दोलनमा राम्रोसँग परिचालन गर्न सकेनौँ भने देश दुर्घटनामा जाने खतरा रहेको बताउँदै अध्यक्ष दाहालले समाजमा जाने र कार्यकर्ता परिचालन गर्ने कार्य जोडतोड तुल्याउन आवश्यक रहेकाे बताए । पार्टीभित्रका समस्या, घटना र एकीकरणपछि अहिलेसम्मको सहयात्रा सम्बन्धी बैठकमा लामो फेहरिस्त सुनाउँदै अध्यक्ष दाहालले बैठक र आफ्नो समूहको पार्टीको आधिकारिकताको पुष्ट्याइएका विभिन्न आधार प्रस्तुत गरे।
३१५ जना उपस्थितिको जिकिर
नेकपाका ४४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमध्ये आजको बैठकमा ३१५ जनाको सहभागिता रहेको जनाइएको छ । केन्द्रीय समितिको बिहीबार बस्ने बैठकमा वर्तमान वस्तुस्थितिबारे अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति बनाइने जानकारी दिइएको छ ।
उक्त समूहले बुधबार आफ्नो समूहको विघटित प्रतिनिधिसभामा रहेका सदस्यको बैठक राखेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी सञ्चालनमा देखिएका समस्या र पछिल्लो समय संसद् विघटन भएको घटनासम्मको अवस्थाको विश्लेषण गरी सही र गलत छुट्याएर एकताबद्ध हुन पार्टी पङ्तिलाई आह्वान गरे।
उनले भने, “सही नीति र व्यवहारका आधारमा पार्टीलाई एकताबद्ध गराउँछौँ, संविधान, गणतन्त्र, सङ्घीयता रक्षा र पार्टी एकताका लागि हामी सबै क्रियाशील हुनु पर्छ ।”
अर्का नेता नेपालले प्रधानमन्त्रीले दलको निर्णयको अवज्ञा गरेकाले वर्तमान सङ्कट निम्त्याएको जिकिर गरे। उनले भने, “संविधानमा संसद् विघटन गर्ने कुनै प्रावधान नै छैन, प्रधानमन्त्री ओलीले पार्टी र सरकार चलाउन सक्नुभएन । पछिल्लो कदमले लोकतन्त्र र गणतन्त्र नै धरापमा पर्न सक्छ । पछिल्लो कदमले देशलाई अस्थिरतातिर जाने ढोका खोलेको छ ।”
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रका समस्या र वर्तमान अवस्थाबारे जानकारी गराएको उक्त बैठकमा स्थायी समिति सदस्य भीमबहादुर रावलले प्रधानमन्त्रीले दलको नीति, सिद्धान्त, कार्यक्रम र जनताको आकाङ्क्षाको अवज्ञा गर्दै अघि बढ्न खोजेको आरोप लगाए ।































प्रतिक्रिया