राम्रा काम भएकै छैन झैँ गरी समाज बहकिँदै गयो : मन्त्री ज्ञवाली

राम्रा काम भएकै छैन झैँ गरी समाज बहकिँदै गयो : मन्त्री ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गरेका छन्  । अग्रगति र पश्चगतिको सङ्घर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उनले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताएका हुन् ।

काठमाडौँको मैतीदेवीमा होप फाउण्डेसनद्वारा आज आयोजित वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले समाजमा विकृति विसङ्गति रहेको स्वीकार गर्दै भएका राम्रा कामलाई विर्सन नहुनेमा जोड दिए । उनले भने, “सबै राजनीति खराबैखराब, चिकित्सक रोगीबाट पैसा मात्रै धुत्छन्, विद्यार्थी सबै चिट नै चोर्छन्, शिक्षकहरु सबै ठग्छन्, कर्मचारी सबै घुस्याहा नै हुन जस्तो गरी आम जनरलाइज गरेर समाज अगाडि बढ्दै छ भन्ने कुरालाई ओझेलमा पार्ने कोशिस भइरहेको छ ।”

समाजमा भएका खराबी विरुद्ध लड्ने सामथ्र्य सरकारसँग रहेको जिकिर गर्दै मन्त्री ज्ञवालीले प्रश्न गरे, “भूकम्प, नाकाबन्दी, चुनावलगायत कयौँ अफ्ठ्यारोलाई पार गर्दै नेपालले सात दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुशी हुनुपर्ने होइन ?” वेल्जिएममा सङ्घीयता कार्यान्वयन गर्न ११ वर्ष लागेको स्मरण गर्दै उहाँले नेपालमा पहिलो वर्षमै कार्यान्वयन हुनु ठूलो उपलब्धि भएको बताए ।

युगौँदेखि थोपरिएका समस्या रातारात समाधान नहुने प्रष्ट्याउँदै देशमा परिवर्तनका सकारात्मक सङ्केत देखिन थालेको उनको जिकिर थियो । समाजमा भ्रष्टाचार भए पनि पहिले जस्तो नभएको उनको दाबी छ । “कर्मचारी आएर लौन एक दिन भन्सार जान पाएको छैन, मालपोत जान पाएको होइन भनेर, नेताहरुलाई सधैँभर तनाव हुन्थ्यो तर आज भन्सार र मालपोतमा मलाइ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ, यसको अर्थ के, त्यहाँका प्वाल बन्द हुन थालेछ, यो त सत्य हो नी”, मन्त्री ज्ञवालीले भने ।

ठाउँमै निशाना लागेकाले अख्तियारमै बसेका मान्छेले मुख लुकाउँदै राजीनामा दिएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको जानकारी गराउँदै उहाँले विकृति विरुद्धको लडाइँ शुरु भएको उल्लेख गरे । फरक प्रसङ्ग जोड्दै मन्त्री ज्ञवालीले नेपाली समाजको बहुआयामिक सँस्कृतिलाई अगाडि ल्याउन र कर्णालीलाई चिनाउन वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीले गरेको योगदानको प्रशंसा गरे ।

बेइजिङ ओलम्पिकमासमेत उत्कृष्ट १० मा छनोट भएको मुलुकको राष्ट्रगान छनोटको नेतृत्व गर्ने जोशीको योगदानको राज्यले उच्च मूल्याङ्कन गरिरहेको र गरिरहने बताउँदै उहाँले आज जोशीलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गरे । मुलुकका अन्य गतिविधि पछाडि परेपनि सँस्कृतिका हिसाबले नेपाल अन्य देशको तुलनामा अब्बल रहेको उनको भनाइ थियो ।

विश्व व्यापारीकरणलगायत कारणले पश्चिमा संस्कृति भित्रिँदा मौलिक संस्कृतिमा अतिक्रमण भइरहेकोमा उनले चिन्ता प्रकट गरे । उनले गलत गतिविधि रोक्दै पश्चिमाहरुको विकासबाट पाठ सिकेर गलत परम्परालाई हटाउँदै जानु अहिलेको आवश्यकता रहेको बताए ।

Logo