काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरू कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिन संसद् विघटन गरेको बताएका छन्।
विघटित प्रतिनिधिसभाका सदस्यहरुको साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीले आफूलाई कारबाही गर्न नसक्ने बताए । उनले विचार, संगठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकार तथा मुलुकको काममा अवरोध गरी विग्रहतिरको बाटोमा अग्रसर भएको आरोप लगाए ।
संसद् विघटन आफ्नो निजी रोजाइ नभई पार्टीको आन्दोलन र भविष्य जोगाउने विकल्पका रुपमा लिइएको उनको भनाइ भनाइ थियो । गत निर्वाचनमा जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम भएको ओलीको भनाइ थियो ।
एकतापछि पार्टीको सचिवालयका ७५ पटक सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उनीहरु कहिल्यै राजी भएनन्, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उनीहरुको स्वार्थपूर्तिले घेरिनु परेको प्रधानमन्त्री ओलीले गुनासो गरे।
विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन दिँदै ओलीले भने– ‘तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षड्यन्त्रबारे जनतालाई बुझाउनुहोस्, कसले काम गर्यो, कसले काम गर्न अवरोध गरेर षड्यन्त्रपूर्वक तिकडम मात्र गर्यो, जनतालाई बुझाउनु पर्छ । ’नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया