विनानिष्कर्ष सकियो पहिचानवादी र कोशी सरकारबीचकाे वार्ता, भोलि फेरि बस्ने

विनानिष्कर्ष सकियो पहिचानवादी र कोशी सरकारबीचकाे वार्ता, भोलि फेरि बस्ने

केन्द्रबिन्दु
14
Shares

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समिति बीचको बिहीबार पहिलो दिनको वार्ता विनानिष्कर्ष सकिएको छ । वार्ताका सहभागी शुक्रबार पुनः फेरि बस्ने भएका छन् ।

विराटनगरको ‘बिग’ होटलमा भएको वार्ता सकारात्मक भएको सहभागी दुवैतर्फका प्रतिनिधिले बताएका छन् ।

वार्तामा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूलगायत सहभागी थिए । उनले पहिलो दिनको वार्ता सकारात्मक भएको भन्दै भोलि फेरि बस्ने सहमतिका साथ सम्पन्न भएको बताए ।

संघर्ष समितिका तर्फबाट वार्तामा युवराज राईलगायतको सहभागिता थियो । समितिको वार्ता टोलीले पनि आजको वार्तामा दुवै तर्फबाट आफ्ना कुरा राखिएको उल्लेख गर्दै सकारात्मक भएको जानकारी दिए ।

सरकारी टोलीमा जबेगूको संयोजकतत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव छन् ।

समितिको तर्फबाट वार्ता टोलमिा डकेन्द्र सिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरीलगायत छन् ।

प्रदेशसभाको २०७९ फागुन १७ को बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचानमा आधारित नभएको भन्दै पहिचानवादीहरु असन्तुष्ट रहँदै आएका छन् । उनीहरुले पुनः नामकरणको मागसहित आन्दोलन गर्दै आएका छन् ।

Logo