भ्रष्टाचार रोक्न सबै एकजुट हुनुपर्छः मुख्यमन्त्री यादव

भ्रष्टाचार रोक्न सबै एकजुट हुनुपर्छः मुख्यमन्त्री यादव

केन्द्रबिन्दु
42
Shares

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचारलाई क्यान्सरको संज्ञा दिँदै यसलाई रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसमा आयोगद्वारा आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रण गर्ने प्रयोजनले नै आफूहरुले सुशासन ऐन ल्याउन लागेको जानकारी दिए । उनले भने,‘भ्रष्टाचार अहिलेसम्म सकिएको छैन् । त्यसको लागि क्याविनेटबाट सुशासन ऐन पनि ल्याउँदैछौं । तर भ्रष्टाचार रोक्न हामी सबै एकजुट हुनुपर्छ । एक्लै कसैले पनि रोक्न सक्दैन ।’

मुख्यमन्त्री यादवले घुस खानेभन्दा घुस खुवाउनेहरु पनि सचेत हुनुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार नियन्त्रणको लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताएका उनले भ्रष्टाचारको समाचार बाहिर आए त्यसको आधारमा छानविन र भ्रष्टलाई कारबाही गर्ने दाबी गरे ।

कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले नेता र कर्मचारी इमान्दार भइदिएको खण्डमा भ्रष्टाचार आफै नियन्त्रण हुने दावी गरे ।

त्यस्तै, उच्च अदालत जनकपुरधामका मुख्यन्यायाधीश श्रीकान्त पौडेलले भ्रष्टाचारविरुद्ध नैतिक शिक्षाको आवश्यक्ता औल्याए । सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेकाले कानूनभन्दा मानसिकतामा परिवर्तन गरेर अघि बढनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले भ्रष्टाचार जस्तो विकृति रोक्न सबै सरोकारबालाहरुबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।

प्रदेश प्रमुख मिश्रले मुलुकमा विधिको शासन स्थापना गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुका साथै आमजनताले अनुभूति गर्ने गरी कार्यसम्पादन गर्न समेत उनले आयोगलाई आग्रह गरे ।

Logo