काठमाडौं,
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुल विभाग विवाद थप बल्झिएको छ । स्कुल विभाग प्रमुखमा दाबेदारी गरिरहेका नेताहरू आफ्नो अडानबाट टसमस नहुँदा विवाद तत्कालै समाधान नहुने देखिएको छ । बैठक बोलाउने अनि सहमति नभएको भन्दै स्थगित गर्ने ‘रोग’ नेकपामा पछिल्ला दिनमा सामान्यजस्तै बन्दै गएको छ ।
स्कुल विभाग प्रमुख चयन गर्ने लगायतका विषयमा केन्द्रित रहेर आइतबार दिउँसोका लागि सचिवालय बैठक बोलाइएको थियो । तर, प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बिहानको छलफलमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको थियो ।
अर्को बैठक सोमबार (आज) का लागि डाकिएको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको बैठकमा एकताको बाँकी काम टुंगो लगाउने विषयमा छलफल हुने बताए ।
स्कुल विभाग प्रमुखमा सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी रहँदै आएको छ । श्रेष्ठ पार्टी सचिवालय सदस्य र प्रवक्ताको जिम्मेवारीमा छन् । पोखरेल सचिवालय सदस्य र उपप्रधान तथा रक्षा मन्त्रीको जिम्मेवारीमा छन् । स्कुल विभाग प्रमुखलाई पछिल्ला दिनमा पूर्वएमाले र पूर्वमाओवादी दुवैले प्रतिष्ठाको विषय बनाउँदै आएको छ । स्कुल विभाग प्रमुख श्रेष्ठलाई नै बनाउने विषयमा पूर्वमाओवादीबीच एकमत देखिन्छ । तर, पोखरेललाई दिने विषयमा भने पूर्वएमालेबीच नै एकमत देखिँदैन ।
श्रेष्ठ र पोखरेल दुवैले दाबी गरिरहेको अवस्थामा सचिवालय सदस्य झलनाथ खनालले आफ्नो नाममा सहमति भएको खण्डमा जिम्मेवारी वहन गर्ने बताइसकेका छन् । उता, श्रेष्ठ र पोखरेलका साथै पार्टी स्थायी कमिटीका सदस्य घनश्याम भुसाल र डा. वेदुराम भुसालले समेत दाबेदारी प्रस्तुत गर्दै आएका छन् ।
गत साता बसेको सचिवालय बैठकमा विवाद भएपछि जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउँदै ७ साउनमा सचिवालय बैठक डाकिएको थियो । तर बैठक स्थगित गर्दै अर्को बैठक ९ साउनमा बस्ने सहमति भएको थियो ।
विवाद समाधान नभएपछि ९ साउनको बैठकसमेत स्थगित गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भयो । अनिश्चितकालका लागि बैठक स्थगित भएपछि नेतृत्वले सहमति जुटाउने प्रयास ग¥यो । अध्यक्षद्वय ओली र दाहालबीच पटक–पटक छलफल भयो तर सहमति जुट्न सकेन । अर्को बैठक १२ साउन (आइतबार) का लागि बोलाइयो । तर, विवाद समाधान नभएकै कारण बैठक स्थगित भयो । अर्को बैठक सोमबार (आज) का लागि बोलाइएको छ ।
राजधानीबाट































प्रतिक्रिया