आगामी बजेटमा मधेसलाई विशेष व्यवस्था गरिन्छः प्रधानमन्त्री प्रचण्ड

आगामी बजेटमा मधेसलाई विशेष व्यवस्था गरिन्छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
14
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताएका छन् ।

धनुषाको सबैला नगरपालिका–४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका–५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाएका हुन् । आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीररुपमा लिएको उल्लेख गर्दै उनले तराईमा सिँचाइ, मलबीउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरे ।

देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न बृहत् आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता ‘गेम चेन्जर’ आयोजना निर्माणका काम यथासक्य चाँडो अगाडि बढाइने उल्लेख गरे । “मधेसको विकासबिना देशको विकास सम्भव छैन, मधेसको मुक्तिबिना देशको मुक्ति सम्भव छैन,” उनले भने, “मसेधी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।”

मधेस, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसी जनताको मत लिएर सङ्घीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकामा गर्व छ भने । “मधेस, पहाड र हिमालको एकतालाई अविछिन्न तुल्याउन सबैको पहिचान र अधिकारका लागि लडेको नाताले एकता कायम गर्न मेरो जिम्मेवारी छ,” उनले भने ।

Logo