सुवास नेम्वाङको बिँडाे थाम्लान् त सुहाङले ? इलाम -२ मा बढाए चहलपहल

सुवास नेम्वाङको बिँडाे थाम्लान् त सुहाङले ? इलाम -२ मा बढाए चहलपहल

केन्द्रबिन्दु
24
Shares

उपनिर्वाचन नजिकिएसँगै इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी चहलपहल बढेको छ । नेकपा (एमाले) का तत्कालीन उपाध्यक्ष तथा संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि गत भदौ २६ देखि इलाम २ रिक्त छ। उक्त क्षेत्रमा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनको मिति तोकिएसँगै नेम्वाङका छोरा सुहाङ नेम्वाङ एमालेबाट इलाम क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । एमालेले सुहाङलाई उम्मेदवार बनाउने अनुमान धेरैको छ । यो अनुमानलाई सहयोग पुग्ने गरी पछिल्लोसमय सुहाङ इलाममा सक्रिय छन् ।

इलाममा ढुक्क गरी बसेर सुहाङले भेटघाट र अन्तरक्रियालाई तीव्रता दिएका छन् । पछिल्लो एक सातायता पेशाले अधिवक्ता सुहाङ दर्जनौं भेटघाट र कार्यक्रममा सहभागी भएका छन् । औपचारिक कार्यक्रमहरुमा पनि सहभागी भइरहेका छन् । कान्तिपुर ल एशोशिएट्स सञ्चालन गरेर वकालत गदै आएका सुहाङ अड्डा जमाएर इलाम बस्नुले पनि उनीले टिकट पाउने अनुमान धेरैले गरेका छन् । यद्यपि आफ्नो भेटघाट र कार्यक्रम चुनाव केन्द्रित भने नभएको उनको दाबी छ ।

सुहाङ सामाजिक, खेलकुद र सांस्कृतिक कार्यक्रम मात्रै होइन राजनीतिक गतिबिधिहरुमा सक्रिय रुपमा सहभागी छन् । गत २१ फागुनमा इलामदेखि झापाको सुखानी पुगेका थिए । सुखानी स्मृति दिवसको दिन उनले इलामबाट झापा पुगेर नै सहिदहरुप्रति सम्मान प्रकट गरेको थिए ।

सुहाङले इलाममा हुने सबैजसो कार्यक्रम, प्रतियोगिता र सार्वजनिक बिषयमा निरन्तर बोल्न र लेख्न थालेका छन् । ती सम्बोधनहरुमा बुवा सुवास, गृह जिल्ला इलाम, युवा पुस्ता र राष्ट्रिय राजनीतिलाई जोड दिने गरेका छन् । यी सबै गतिबिधि हेरेर इलामका स्थानीयबासीहरुले सुहाङ उम्मेदवार बन्ने चर्चा सुरु गरेका हुन् ।

सुहाङले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस अगाडि उभिएको तस्बिर हाल्दै इलाममा सक्रिय रहने संकेत गरेका छन् । त्यसो त सुहाङ यसअघि देखि नै इलाममा सक्रिय थिए । खेलकुद लगायतका सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागी थिए । बुवा जस्तै भाका र भाषा मिलाएर बोल्ने सुहाङले विनम्र, सरल र बौद्धिक छवि बनाएका छन् । यसअघि कुनै पदमा बसेर राजनीतिमा सक्रिय नभए पनि उनीले बुवालाई साथी र सहयोगीमा रुपमा सहयोग गर्दै आएका थिए । २ असोज २०८० मा इलाममा आयोजित सुवास नेम्वाङको श्रद्धाञ्जली सभामा सम्बोधन गरेयता नै सुहाङलाई राजनीतिमा ल्याउनु पर्छ भनेर युवाहरुले इलाममा अभियान चलाएका थिए । परिवारका तर्फबाट बोलेका सुहाङको बोलीमा सुवास नेम्वाङको शैली भेटिएको चर्चा भएको थियो ।

गत प्रतिनिधि सभाको निर्वाचनमा इलामका पाखा–पखेरा डुल्दा त्यहाँका विषमताबारे उनी परिचित छन्।

यता उपनिर्वाचनका लागि एमालेले पनि चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्नेगरी तयारी थालेको छ। उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको छ। इलाम २ मा नेम्वाङका छोरा सुहाङसहित नेम्वाङको स्वकीय सचिवको भूमिकामा रही दुई दशक काम गरेका बुद्धीप्रसाद खनाल, युवा नेता रवीन्द्र सुवेदी, लेखक एवं विश्लेषक डा. देवी क्षेत्री दुलाललगायत उम्मेदवारका आकांक्षी छन्।

Skip This
Skip This
Logo