लैङ्गिक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराएँः मन्त्री चौधरी

लैङ्गिक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराएँः मन्त्री चौधरी

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी स्वदेश फर्किएकी छन्।

शुक्रबार साँझ कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्किएकाे मन्त्री चौधरीका स्वकीय सचिव शंकर चौधरीले जानकारी दिए।

मन्त्री चौधरीलाई मन्त्रालयका सचिब सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्टलगायतले स्वागत गरेका थिए।

तीन वर्षपछि नेपालबाट युएन वुमनको सम्मेलनमा मन्त्रीस्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको हो। महिलाका सामाजिक, आर्थिक, न्यायिक समानतालगायतका विषयमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्व सम्मेलन गर्ने गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै मन्त्री चौधरीले सम्मेलनले पारित गरेका एजेण्डाहरुले महिला समानताका पक्षमा टेवा पुग्ने बताइन्। सम्मेलनमा नेपालले आफ्ना एजेण्डाहरु बलियो रुपमा राखेको बताउँदै चौधरीले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लैङिगक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराइएको जिकीर गरिन्।

‘भ्रमण फलदायी भएको छ। लैङिगक समानता, सामाजिक, आर्थिक क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीहरु, बर्तमान अवस्थामा ब्यहोर्नु परेका चुनौतिहरुबारे विश्वमाझ जानकारी दिन सके। सम्मेलनमा तीन वर्षदेखि मन्त्री स्तरीय प्रतिनिधिमण्डलको भ्रमण भएको थिएन। समग्रमा भन्नुपर्दा भ्रमण फलदायी र उपलब्धीमुलक भएको छ,’ उनले भनिन्।

चौधरीले एक हप्ताको भ्रमणमा प्रवासी नेपाली मञ्चले आयोजना गरेको साइड कार्यक्रममा सहभागी हुँदै प्रवासमा रहेका नेपाली नागरिकले भोग्नु परेका समस्या र चुनौतिका बारेमा सात्क्षात्कार हुँदै समाधानका लागि पहल गर्ने पनि बताइन्।

मन्त्री चौधरीले विश्व सम्मेलनमा बोल्दै मन्त्री चौधरीले महिला र युवतीहरुका सवालले नेपालले गरेका काम, अपनाएका नीति, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिला सहभागिताको बर्तमान अवस्था, सरकारले ब्यहोर्नु परिरहेको चुनौतिका बारेमा विश्वको ध्यानाकर्षण गराएकी थिइन्।

उनले महिला समानता र महिला सशक्तिकरणलाई सरकारले प्राथमिकतामा राखेको धारणा राख्दै १६ औं पञ्चवर्षीय आवधिक योजनामा लैङ्गिक जवाफदेही शासन प्रणालीलाई समावेश गर्न राज्य प्रतिबद्ध भएको बताएकी थिइन्।

मन्त्री चौधरीले जमिन र सम्पत्तिमा एक तिहाइ महिलाको स्वामित्व रहेको, लघु, साना र मझौला उद्यममा महिलाहरुको सहभागिता बढिरहेको विश्वलाई जानकारी गराएकी थिइन्।

नेपालमा हाल करिब ४५ प्रतिशत लघु, साना र मझौला उद्योगहरु महिलाद्वारा सञ्चालित छन्। सहकारीमा ५६ प्रतिशत महिला छन्। यसले आर्थिक स्वतन्त्रतालाई दिगो बनाउन योगदान गरेको उनको धारणा छ।

Logo