चीन भ्रमण द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध सुदृढमा केन्द्रित रह्याे -परराष्ट्रमन्त्री श्रेष्ठ

चीन भ्रमण द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध सुदृढमा केन्द्रित रह्याे -परराष्ट्रमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आफ्नो चीन भ्रमण द्विपक्षीय छिमेकी मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने र आर्थिक विकासका लागि चीनबाट नेपालले लिनसक्ने लाभको विषयमा केन्द्रित रहेको बताएका छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा सोधेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको आजको मुख्य कार्यभार रहेको आर्थिक विकास र समृद्धिलाई तिव्र गतिमा विकासको प्रक्रियामा अघि बढेको चीनबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल गरेको बताएका हुन् ।

उनले भने, ‘मैले यो पटकको चीन भ्रमणमा दुई विषयमा केन्द्रित रहि छलफल गरेको छु । एक, हाम्रो द्विपक्षीय छिमेकी मैत्रिपूर्ण सम्बन्धलाई सुदृढ बनाउने र दोस्रो नेपालको आजको मुख्य कार्यभार रहेको आर्थिक विकास र समृद्धिलाई तिव्र गतिमा विकासको प्रक्रियामा अघि बढेको चीनबाट कसरी लाभ लिन सकिन्छ भन्ने छलफल गरेको छु ।’

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने उद्देश्यले छिमेकी लगायत सबै मित्र राष्ट्रहरूसँग सार्वभौम समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्न सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो ।
छिमेकीलाई उच्च प्राथमिकता दिने सरकारको नीति रहेको उल्लेख गर्दै उनले चीन र भारत दुवै छिमेकी राष्ट्रहरूसँग उच्च तहमा निरन्तर भ्रमणको आदान प्रदान भइरहेका बताए ।

उनले भने, ‘दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि पारस्परिक लागका आधारमा छिमेकी लाभका आधारमा विश्वका सबै मित्र राष्ट्रहरूसँगको आपसी सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने सरकारको नीति रहेको छ । यसमा छिमेकीलाई उच्च प्राथमिकता दिने सरकारको नीति रहेको छ । नेपालको दुवै छिमेकी राष्ट्रहरुसँग उच्च तहमा निरन्तर भ्रमणको आदान प्रदान भइरहेका छन् । यस प्रकारका भ्रमण र भेटवार्ताहरुले हाम्रो हित र चासोका विषयहरूलाई प्रष्ट रुपमा राख्न सहयोग पुगेको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठ ११ देखि १९ चैतसम्म चीन भ्रमणमा थिए । उनले बेइजिङमा नेशनल कमिटी अफ चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कमिटी (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिङ, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए  । उनले चिनियाँ कम्युनिस्ट पार्टी, छोङछिङ नगर समितिका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य युआन जियाजुन, पार्टीको तिब्बत सचिव वाङ जुनछेङ, सिचुवान प्रान्तका गभर्नर हुवाङ छियाङ र पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपप्रमुख सुन हैयानसँग छलफल गरेका थिए ।

Logo