प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठी सम्बन्धी विधेयक संविधान विपरित भएको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको दाबी गरे ।
राजधानीमा गुठी सम्बन्धी विधेयक लगायत सरकारले संविधान विपरित ल्याएका विधेयक विरुद्ध काठमाडौंमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भईरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए ।
उनले भने, “काठमाडौंमा आन्दोलनको हुरी चल्दैछ । बादल गर्जिदै छ दिनका दिन आन्दोलनको । विधेयक तुरुन्तै फिर्ता गरि सरोकारवालाहरुसँग विधेयक संशोधन गरेन भने आन्दोलन चर्किन्छ र त्यो आन्दोलनले कहाँ पुर्याउछ भनेर भन्न सकिन्न ।”
काठमाडौं उपत्यकाबासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने भन्दै उनले समयै सचेत हुन सरकारको गभ्भीर ध्यानाकर्षण गराए । उनले भने, “काठमाडौंका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन । हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्ने चिन्ता होइन । संविधानप्रति नै जनताले अनास्था गर्ला भन्ने चिन्ता हो । काठमाडौंका जनता जुरुक्क उठेपछि राजतन्त्र फालियो ।”
गुठी सम्बन्धी विधेयक मार्फत सरकारले ऐतिहासिक, पुरातात्वीक महत्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको आरोप उनले लगाए ।
सभामुख कृष्ण बहादुर महराले बिहिबारको बैठक प्रारम्भ भएको जानकारी गराएलगत्त नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएपछि उनले भीमसेनदास प्रधानलाई बोल्नका लागि समय दिएका थिए ।
प्रतिक्रिया