‘सुदूरपश्चिमको विषयले गठबन्धनमा केही फरक पर्दैन’ -रवि लामिछाने

‘सुदूरपश्चिमको विषयले गठबन्धनमा केही फरक पर्दैन’ -रवि लामिछाने

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको विवाद सामान्य भएको भन्दै यसले गठबन्धनमा केही फरक नपर्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता भएको थियो । उक्त भेटपछि सञ्चारकर्मीसँग लामिछानेले वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उल्लेख गर्दै गठबन्धनभित्र कुनै समस्या रहेको बताए ।

सुदूरपश्चिममा सरकार निर्माणका क्रममा भएको विवादका कारण केन्द्रमा पनि फरक परेको त होइन ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा लामिछानेले भने, ‘त्यस्तो केही छैन, एउटा समझदारीमा गइसकेको कुरामा कहिलेकाँही भनौं न पात्रहरुका विषयलाई लिएर र प्रदेशमा उहाँभन्दा अर्को मान्छे राम्रो हो कि भन्ने विषयमा भएका छलफलहरु हुन् । त्यहाँ रास्वपाको सहभागिता नरहेका कारणले यो विषयमा मेरो धेरै मत त रहेन ।’

केन्द्रमा सत्ता समीकरणका कारण प्रदेश सरकारहरु भत्कने र बन्ने क्रम देखिइरहेको भए पनि प्रदेश सरकारका कारण केन्द्रमा केही असर नपर्ने दाबी लामिछानेले गरे । सत्ता गठबन्धनमा रहेको दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो ।

उक्त भेटका विषयमा दुवैले वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको भन्दै चर्चा भएपछि प्रधानमन्त्री दाहाल र ओली छलफलमा छन् । त्यसलगत्तै एमालेले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीका लागि समर्थन गरेको थियो ।

Logo