इलाम-२ मा एमाले सहज अवस्थामा छः सांसद बस्नेत

इलाम-२ मा एमाले सहज अवस्थामा छः सांसद बस्नेत

केन्द्रबिन्दु
70
Shares

वैशाख १५ गते हुने इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छ। तीन दशकदेखि निर्वाचन आफ्नो पक्षमा पार्दै आएको एमाले यस पटक युवा र राजनीतिकै नयाँ अनुहारलाई उम्मेदवार बनाएर मैदानमा छ। एमाले उपाध्यक्ष दिवंगत नेता सुवास नेम्बाङका छोरा सुहाङलाई उम्मेदवार बनाएर घरदैलो गरिरहेका बेला एमाले इलामका जिल्ला कमिटी अध्यक्ष एवम् निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतसँग हामीले चुनावी कुराकानी गरेका छौँ:

एमालेबाट नयाँ र युवा उम्मेदवार लिएर तपाईंहरु मतदाताको घरदैलोमा हुनुहुन्छ। कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
एकदमै सकारात्मक प्रतिक्रिया पाएका छौं। मतदाताहरु हाम्रो युवा उम्मेदवार सुहाङ नेम्बाङप्रति उत्साहित हुनुहुन्छ। युवा उम्मेदवारप्रति धेरै आशा र भरोसा गरेको पाएका छौं। सुहाङप्रति अत्यधिक क्रेज देखिन्छ।

अहिलेको निर्वाचन विगतभन्दा फरक देखिन्छ। नयाँ बैकल्पिक शक्तिहरु र स्वतन्त्र उम्मेदवारहरु मैदानमा हुनुहुन्छ। कस्तो महसुश भइरहेको छ ?
हामीलाई नयाँ शक्ति वा उम्मेदवाहरुको कुनै किसिमको असहज र चुनौति छैन। हाम्रा सैद्धान्तिक मतदाता सुरक्षित छन्। मतदाता थपिएका छन् र मत बढेको अवस्था छ। प्रतिस्पर्धामा आएका उम्मेदवाहरुका कारण केही मत तलमाथि हुनु स्वाभाविक हो तर हामीलाई केही पनि समस्या छैन।

इलाम २ मा विगतका निर्वाचनमा सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्थ्यो। अहिले उहाँका पुत्र सुहाङ नेम्बाङ उम्मेदवार हुनुहुन्छ, तपाईंहरुलाई कुनै असहज महशुस भएको छैन ?
पात्रप्रति वा उम्मेदवारप्रति केही विमती होला वा असन्तुष्टि होला तर राजनीति बुझेका मतदाताले आफ्नो सिद्धान्त छाडेका छैननन्। मतदाताले नयाँ नेता खोजेका छन्, युवा नेता खोजेका छन्। एमालेका मतदाता कहिल्यै विचलित हुँदैनन्। यसमा हामी ढुक्क छौँ।

हाम्रा सैद्धान्तिक मतदाता सुरक्षित छन्। मतदाता थपिएका छन् र मत बढेको अवस्था छ।

तर मतदाताहरुमा पुराना दलहरुप्रति आक्रोश बढेको छ, भनिन्छ नि।
यो बाहिर गरिने हल्ला मात्र हो। पुराना दलहरुप्रति विश्वास टुटेको छैन। एमालेप्रति अगाध विश्वास कायम छ। मैले अघि नै भने पात्रप्रति केही असहमति होला तर राजनीति बुझेका मतदाता पुराना दलहरुप्रति विश्वस्त हुनुहुन्छ। आफ्नो मूलधारलाई मतदाताले छाड्न सक्दैनन्।

कोशी प्रदेश नामकरण विषयलाई लिएर पहिचानको मुद्दा पेचिलो देखिएको छ। पहिचानवादीका तर्फबाट उम्मेदवार मैदानमा हुनुहुन्छ। यसले एमालेलाई धेरै चुनौति छ भन्नेहरुलाई तपाईंसँग के जवाफ छ ?
पहिचानवादीहरुको हामीलाई कुनै चुनौति छैन। उहाँहरु शान्तिपूर्ण राजनीतिमा आउनुभएको छ। पहिले उहाँहरु ढुंगामुडा गर्नुहुन्थ्यो, अवरोध गर्नुहुन्थ्यो, गाडी जलाउनुहुन्थ्यो, अशान्त ढंगले लाग्नुहुन्थ्यो। अहिले शान्तिपूर्ण राजनीतिमा आउनुभएको छ। संविधान अन्तर्गत आएर शान्तिपूर्ण प्रतिस्पर्धामा आउनु स्वागतयोग्य छ। उहाँहरु आफ्ना मुद्दाहरु स्थापित गर्न बल गरिरहनु भएको छ। कतिसम्म सफलता प्राप्त गर्नुपर्छ त्यो पछिको कुरा हो। उहाँहरुले केही मत प्राप्त त गर्नुहोला तर निर्णायक बन्न सक्नुहुन्न।

केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुमध्ये माओवादी केन्द्रलगायतका केही दल हामीसँग हुनुहुन्छ।

तर कतिपयले त पहिचानवादीहरुको मुद्दालाई वेवास्ता गरिए जातीय द्वन्द निम्तिने आँकलन गरिरहेका छन नि। एमालेले उहाँहरुको मुद्दालाई कसरी हेरेको छ ?
कुनैपनि विचार आयो भन्दैमा त्यसलाई द्वदसँग तुलना गर्नुहुँदैन। नयाँ विचारहरु आउँदैमा त्यसलाई खराब ठान्नुहुँदैन। उहाँहरु विरोधका नाममा गैरकानुनी गतिविधिमा हुनुहुन्थ्यो अब शान्तिपूर्ण प्रतिस्पर्धा आउनुभएको छ। यसले सबैलाई फाइदा गर्छ। सबै जाती, बर्ग, समुदाय वा लिङ्गका विषयमा एमाले सँधै उदार छ।

एमालेको मुख्य प्रतिस्पर्धीलाई र हालको मतको अवस्थालाई कसरी मूल्यांकन गरिरहनुभएको छ ?
परम्परागत रुपमा भन्नुपर्दा हाम्रो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै हो। यसपटक कांग्रेसको मत घटेको छ। हिजो गठबन्धनमा रहँदा राम्रो मत ल्याउनुभयो, अहिले त्यस्तो छैन। विगतको इक्वेसन हेरेर अहिले मूल्याकंन गर्न मिल्दैन। केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुमध्ये माओवादी केन्द्रलगायतका केही दल हामीसँग हुनुहुन्छ।

त्यस हिसाबले एमालेलाई सहज भएको छ। सत्तामा रहेका अन्य दलहरु आफ्नो अस्तित्वका लागि लडिरहनुभएको छ। त्यसले हामीलाई केही असर गर्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्दा उहाँहरुको अघिल्लो मत १३ सय मात्र हो। यस पटक पनि मैदानमा आउनुभएको छ, त्यो उहाँहरुको स्वतन्त्रता हो।

Logo