इलाम २ मा कांग्रेस पहिलो पोजिसनमा छः कावा सभापति देवान

इलाम २ मा कांग्रेस पहिलो पोजिसनमा छः कावा सभापति देवान

केन्द्रबिन्दु
98
Shares

यही वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ । नेपाली कांग्रेस, नेकपा एमालेलगायत अन्य पार्टी र स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी प्रतिस्पर्धामा छन् । विशेषगरी कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेदवार मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छन् । कांग्रेसका तर्फबाट पार्टी सभापति डम्बर खड्का उम्मेदवार छन् । यसै सिलसिलामा चुनावी अभियान, कांग्रेसको तयारी र अवस्थाका बारेमा नेपाली कांग्रेस इलामका कार्यवाहक सभापति खगेन्द्र देवानसँग कुराकानी गरेका छाैं ।

इलाम २ मा यतिबेला उपनिर्वाचनको माहोल छ । तपाईंहरु चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहनुभएको छ । यस क्रममा मतदाताको मनोभावना र अपेक्षा के पाउनुभयो ?

-मनोभावनाको कुरा गर्नुहुन्छ भने ५० प्रतिशत मतदाता बोलेका छैनन् । सबै राजनीतिक दल र उम्मेदवारहरुले आ–आफ्नो रुपमा चुनावी अभियानमा गरिरहेका छन् । हामी पनि सबै पार्टी पंक्ति एकढिक्का भएर चुनावी अभियान र प्रचार प्रसार गरिरहेका छौं । विगत लामो समय हामीले पराजय व्यहोर्नु पर्दा इलामेली जनताले विकासको पर्याप्त अनुभुत गर्न पाएनन् । तर यसपाली हाम्रो उम्मेदवार डम्बरबहादुर खड्काले सबैखाले समस्याको समाधान गर्नेगरी इतिहास रच्दै हुनुहुन्छ । मतदाताको अपेक्षा डम्बरले जितोस भन्ने नै छ । हाम्रो तयारी त्यही अनुसार भइरहेको छ । मतदाताको मनोभावना बुझेर अघि बढेका छौं ।

विगतको निर्वाचन भन्दा यसपाली परिस्थिति फरक देखिन्छ । कांग्रेस–एमाले बाहेक नयाँ शक्ति र उम्मेदवारहरु मैदानमा हुनुहुन्छ । तपाईंहरुलाई अफ्ठयारो परेको छैन ?

-नयाँ शक्ति र नयाँ उम्मेदवार आउने जानेक्र चलिरहन्छ । विगतमा पनि नयाँ उम्मेदवाहरु नभएका होइनन् । तर यहाँका मुख्य प्रतिस्पर्धी भनेको नेपाली कांग्रेस र एमालेबिचमै हुन्छ । यसपालीको अवस्थामा भन्नुहुन्छ भने कांग्रेस पहिलो पोजिसनमा छ । एमाले दोस्रोमा रहन्छ । अरुका बारेमा धेरै बोल्न सक्दिनँ । तर सबै प्राविधिक पक्षलाई केलाउँदा कांग्रेस चार/पाँच हजार मतले अगाडि छ । यसपटक हामी कम्फर्टेवल अवस्थामा छौं ।

पहिचानको मुद्दा पेचिलो बनेको देखिन्छ । पहिचानका सवालमा कांग्रेसले के जवाफ दिइरहेको छ ?

-पहिचानको मुद्दा सम्बोधन गर्ने भनेकै कांग्रेसले हो । संविधान शंसोधन गर्ने कि कुन हिसाबले गर्ने त्यो शक्ति कांग्रेससँग प्रष्ट रुपमा तपाईंले पनि देखिरहनु भएको होला । प्रदेश र संघमा कांग्रेस बलियो अवस्थामा छ । कोशी प्रदेश सरकारको नेतृत्वमा कांग्रेसका केदार कार्की आइसकेपछि तीन पटक पहिचानवादीहरुसँग वार्ता भइसकेको छ । प्रदेश नामाकरणका सवालमा कांग्रेसले पुर्नविचार गर्ने भनेर निर्णय नै गरिसकेको छ ।

१४ जिल्ला सभापतिहरु यसमा सहमत हुनुहुन्छ । नामाकरणका सवालमा एक किसिमको सम्झौता भइसकेको छ । सोही कारणले पहिचानवादीहरु कांग्रेसलाई जिताउन मैदानमा हुनुहुन्छ । बाहिर चलिरहेको हल्लाले केही असर गर्दैन । ग्राउन्डको बस्तुस्थिति भनेको पहिचान पक्षधरहरु कांग्रेससँग हुनुहुन्छ । उहाँहरु संविधान शंसोधन गरेर मुद्दा सम्बोधन गर्न कांग्रेस बलियो शक्ति बनाउन चाहनुहुन्छ । हाम्रो दस्ताबेजले पनि त्यही देखाउँछ । समय सापेक्ष कांग्रेस परिवर्तित भएर अगाडि बढ्छ र बढिरहेको छ ।

२०७९ को निर्वाचन जस्तो सहज अवस्था अहिले कांग्रेसलाई छैन भनिदैँछ नि त ?

-अहिले चाहीं सहज भएको छ । अघिल्लो निर्वाचनमा राष्ट्रिय पहिचानका रुपमा स्थापित श्रद्धेय नेता सुवासचन्द्र नेम्बाङसँग चुनाव लड्दा झिनो मतले पराजित भएका हौं । यसपाली लगभग पाँच हजार मतदाता कांग्रेसतिर आउनुभएको छ । हामी उत्साहित छौं । एमालेका बहुसंख्यक मतदाता हामीसँग हुनुहुन्छ, पहिचान पक्षधरहरु हामीसँग हुनुहुन्छ । परिस्थिति यही हिसाबले फरक भनिएको होला । कांग्रेसको साथ विना सबैखाले मुद्दालाई सम्बोधन गर्न सकिदैँन भन्नेमा मतदाता प्रष्ट हुनुहुन्छ ।

विकासका मुद्दाहरुलाई कांग्रेसले सम्बोधन गर्न सकेन भन्ने आरोप पनि त छ नि । मतदाताले विकासको मुद्दा उठाउनु स्वभाविक हो । विकास निरन्तर चलिरहने प्रक्रिया हो । कुनै समय इलाम सदरमुकामबाट साकफारा पुगेर आउन तीन दिन लाग्थ्यो अहिले एक दिनमा फर्किन सकिन्छ । भौतिक पूर्वाधारका क्षेत्रमा इलामले फड्को मारेको छ । तर २६ बर्षदेखि हामीले यस क्षेत्रमा पराजय व्यहोर्नु पर्यो । सम्बन्धित ठाउँमा कुरा पुर्याउन सकेनौं । तर जति कामहरु भएका छन् ति कांग्रेसको पहलमा भएका छन् ।

कांग्रेसकै दृष्टिकोण र कार्यक्रमकै कारण इलाम सदरमुकामबाट तीन दिन लाग्ने बाटो एकदिनमै सदरमुकाम ओहोरदोहोर गर्नसक्ने अवस्था छ । इलामेली जनताको आर्थिक अवस्था उकास्न, कृषि, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा कांग्रेसले प्रशस्त काम गरिरहेको छ । धेरै काम पाइलाइनमा छन् । सुकुम्बासी, गरिब, पिछडिएका वर्गको मुद्दा कांग्रेसले बोकेको छ ।

चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरुले किरात धर्म गुरु आत्मनन्द लिङ्देनको आशीर्वादको अपेक्षा गरेका छन् । यसमा कांग्रेसको धारणा के हो ?

-किरात धर्मगुरुलाई यस्तो विवादमा ल्याउनै मिल्दैन । राजनीतिमा मुछ्न मिल्दैन । धर्म गुरु कुनै सिमित समूदायको होइन, हामी सबैको गुरु हो । उहाँलाई यो चुनावी अंक गणितमा नजोडौं । राजनीतिकै कुरा गर्ने हो भने त २०५० सालमा तत्कालीन प्रधानमन्त्री एवम कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पहिलो पटक गुरुलाई भेटेको र आशीर्वाद लिनेक्रम शुरु गर्नुभएको हो । त्यसपछि मुलुकका प्रतिष्ठित व्यक्तिहरुले गुरुसँग भेट्ने र आशीर्वाद लिनेक्रमलाई निरन्तरता दिनुभएको हो । यसो भनिरहँदा गुरु कांग्रेस निकट हुनुहुन्छ भनेर भन्न मिल्छ र ? गुरु त सबै बर्ग, समूदाय, लिंग, भाषभाषी हो नि । चुनावी अंक गणितसँग जोडेर गुरुलाई विवाद ल्याउनु हुँदैन भन्नेमा कांग्रेस प्रष्ट छ ।

Logo