माओवादी आन्दोलनको यात्रा जारी छ, निराश नभई निरन्तर लाग्नुस् -अग्नि सापकोटा

माओवादी आन्दोलनको यात्रा जारी छ, निराश नभई निरन्तर लाग्नुस् -अग्नि सापकोटा

केन्द्रबिन्दु
42
Shares

धुलिखेल (काभ्रेपलाञ्चोक) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले माओवादी आन्दोलनको यात्रा जारी रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आइतबार नवौँ पूर्ण बैठकमा उपाध्यक्ष सापकोटाले माओवादी पार्टीमात्रै नभएर विचारसहितको आन्दोलन पनि भएकाले निराश नभएर निरन्तर पार्टी र आन्दोलनमा लाग्न आग्रह गरेका हुन् ।

सबै कुराको निर्धारण विचार र सिद्धान्तले गर्ने भएकाले पार्टी जति बिगिँ्रदै गए पनि आन्दोलनको यात्रा नरोकिने उनको भनाइ छ । “विचार र सिद्धान्तलाई सामान्य र कमजोर नठान्न सबैलाई विनम्र आग्रह छ, राम्रो नीति, योजना, कार्यदिशा र सिद्धान्त भयो भने अगाडि बढ्न कुनै अप्ठ्यारो छैन, त्यो तागत माओवादी पार्टीभित्र छ”, उनले भने ।

राजनीतिलाई कमजोर रूपमा नलिन र सामान्य ढङ्गले नसोच्न आग्रह गर्नै उनले सबै चिजको निर्धारण त्यसैले गर्ने भएकाले राजनीतिलाई अझ गहिराइमा पुगेर बुझ्न सबै नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । जनताले अझै पनि माओवादी पार्टीप्रति नै बढी विश्वास गरेको भए पनि २०५७ सालदेखि माओवादी पार्टीभित्र विचारको संश्लेशण गर्ने परिपाटी छोड्दै गएकाले पार्टी पछि पर्दै गएको उनको भनाइ छ ।

“हामीले माथिमात्रै हेर्ने, विश्वास गर्ने र त्यसैमा रमाउने मात्रै गरिरह्यौँ”, उनले भने “त्यसबाट मुक्त हुँदै पार्टीको जग भनेको नै आधारभूत वर्ग किसान, मजदुर, पिछडिएको वर्ग र समुदायलाई बुझ्ने कामलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।”

पार्टीलाई अझ गति पैदा गराउन राजीतिक खोज, अनुसन्धान र विश्लेषणलाई महत्वका साथ लिएर नयाँ योजना बनाएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले आम नेता, कार्यकर्ताले पनि आफूलाई रुपान्तरण गर्दै बदल्न आफैँलाई चिन्नका लागि सोच्नसमेत आग्रह गरे ।

अबको चार महिनाभित्रमा पार्टीको जनवर्गीय सङ्गठन र मोर्चाको सम्मेलन, भेला र प्रशिक्षण राखेर सङ्गठनलाई सक्रिय र चलायमान बनाउन लाग्न सबै कमिटीलाई उनले आग्रह गरे ।

Logo