कतारी राजा पहिलोपटक नेपालमा, सहकारी पीडितको पैसा राज्यबाटै दिलाउने तयारीमा गृहमन्त्री लामिछाने[भिडियोसहित]

कतारी राजा पहिलोपटक नेपालमा, सहकारी पीडितको पैसा राज्यबाटै दिलाउने तयारीमा गृहमन्त्री लामिछाने[भिडियोसहित]

केन्द्रबिन्दु
56
Shares

कतारी राजा नेपालमा
कतारका राजा शेख तमिम बिन हमाद अल थानी पहिलोपटक दुई दिने राजकीय भ्रमणको लागी नेपाल आइपुगेका छन् । उनको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए । उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ । खाडी राष्ट्रहरूबाट नेपालमा भएकोे यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । परराष्ट्र मन्त्रालयका अनुसार कतारी राजा शेखको राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता पश्चात उनको सम्मानमा राष्ट्रपतिद्वारा राजकीय भोजको आयोजना गरिएको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

सहकारी पीडितहरुलाई न्याय नदिलाएसम्म राजनीतिबाट विश्राम लिन्नः रवि लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले इलाम–२ मा आयोजित चुनावी सभामा बोल्दै सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् । साथै सहकारी पीडितहरुलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने उनले पनि घोषणा गरे । यस विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको उनको भनाई छ । रास्वपाका सभापतिसमेत रहेका लामिछानेले आफ्नो पार्टीका उम्मेदवारविरुद्ध भाडाका मान्छेहरुले अफवाह फैलाएको पनि आरोप लगाएका छन् ।

रेशम चौधरी पार्टीको साधारण सदस्य समेत बन्न मिल्दैनः अध्यक्ष रञ्जिता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले रेशम चौधरी पार्टीको साधारण सदस्य समेत बन्न नसक्ने जिकिर गरेकी छन् । आफू विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा लिखित जवाफ पेस गर्दै श्रेष्ठले पार्टीको विधानमा ‘नैतिक पतन देखिने अभियोगमा दोषी ठहर भएको व्यक्ति पार्टीको सदस्य हुन नसक्ने’ व्यवस्था रहेको भन्दै रेशम चौधरीलाई पनि नागरिक उन्मुक्ति पार्टीको सदस्य बन्ने सुविधा नभएको दाबी गरेकी छन् ।

लगानी सम्मेलनलाई सफल तुल्याउन ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताएका छन् । मंगलबार लगानी बोर्डसँगको छलफलमा उनले भने, “सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ, त्यसैले पनि ठोस र व्यवहारिक योजनाहरू दिनुपर्छ, ⁠नयाँ सन्देश दिनेगरी सम्मेलन गरौँ।” ⁠केही राम्रो गर्न खोज्दा अठ्यारा आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने उनको भनाई छ ।

फिल्म ‘नमेटिने घाउ’मा केपी ओलीले सुरु गरे सुटिङ
एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’मा सुटिङ सुरु गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा उनले फिल्मको सुटिङ सुरु गरेका हुन् । फिल्ममा उनको प्रधानमन्त्रीको भूमिका रहेको छ । फिल्म ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । फिल्ममा अभिनेता रमित ढुङ्गाना रहेका छन् ।

काठमाडौँ महानगरपालिकाले स्वयंसेवक परिचालन गर्ने
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ । सामुदायिक विद्यालयमा सरसफाइ, हरियाली, कलात्मक र आकर्षक वातावरण बनाउनका साथै विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गरिएको महानगर शिक्षा विभागले जनाएको छ ।

उपेन्द्र यादव अमेरिका जाने
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका छन् । जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २७ अप्रिल (१६ वैशाख)मा मन्त्री यादव सहितको टोली अमेरिका जान लागेको मन्त्रालयले जनाएको छ । ‘सम्मेलनमा जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत हुने र ३ मे सम्मको कार्यक्रम सकेर स्वदेश फर्किने कार्यतालिका रहेको जनाइएको छ ।

पढे लेखेकाहरुले देश बिगारेः सिके राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले अहिले नेपालमा ‘पढे लेखेकाहरुले देश बिगारे’ भन्ने भास्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन नसकेको टिप्पणी गरेका छन् । ‘अहिले किन पढ्नुप¥यो भन्ने खालको भास्य पैदा भइरहेको छ, तर त्यो गलत हो,’ उनले एक सार्वजनिक कार्यक्रममा भने, ‘पढ्नु एकदमै आवाश्यक छ, अहिले विभिन्न किताबमा आधारित फिल्म बनाउने चलन आएको छ।’ पहिले गाउँ घरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो, तर अहिले त आक्रोश पोखिने उनको भनाई छ ।

एक युवक झुण्डिएको अवस्थामा मृत भेटिए
जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित । मृतकहरूमा लोहारपट्टी नगरपालिका(४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका(३ महोत्तरी ३१ वर्षीय हितेन्द्र पासवान छन् । युवकसँग ती महिलाको विवाहेत्तर सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कतारका राजालाई नेपालले दुईवटा हात्ती उपहार दिने
नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ती उपहार दिने भएको छ । इतिहासमा पहिलो पटक नेपाल आएका राजा थानीलाई चितवनमा रहेको रुद« कली र खगेन्द्रप्रसाद नाम गरेका हात्ती उपहार स्वरुप दिन लागिएको हो । दुबै हात्ती तालीम प्राप्त हुन् । उपहार दिने हात्तीको स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या नरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ ।

चिया उद्योगीहरुले भेटे प्रधानमन्त्रीलाई
पूर्वी नेपालका चिया उद्योगीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समस्या समाधानका लागि पहल गर्न माग गरेका छन् । भारतीय व्यवसायीले अनिवार्य परीक्षणको बहानामा नेपाली चिया माथि पुनःअवरोध सिर्जना गरेपछि नेपाली उद्योगी व्यवसायी मारमा परेको उनीहरुको भनाइ छ । भारतीयचिया परीक्षणबिना तेस्रो देश निर्यात हुँदैन अनि बिना परीक्षण नेपाली चियालाई किन निर्बाध प्रवेश दिएको भनेर विरोध गरेपछि भारतीयप्रशासनले नेपाली चियामा अवरोध गरेको व्यवसायीहरुको भनाइ छ ।

अरविन्द केजरीवालले डाक्टरसँग परामर्श लिन नपाउने
हिरासतमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले डाक्टरसँग परामर्श लिन नपाउने भएका छन् । दिल्लीको राउज एभिन्यू अदालतले उनको याचिका खारेज गर्दै डाक्टरको परामर्श लिन नसक्ने बताएको हो । अदालतले एम्स अस्पताललाई केजरीवालको मधुमेहको उपचारको लागि इन्सुलिन आवश्यक रहेका वा नरहेको यकिन गर्न मेडिकल बोर्ड गठन गर्न निर्देशन दिएको छ। साथै अदालतले एम्स अस्पताललाई उनका अन्य स्वास्थ्य समस्या पत्ता लगाउन समेत निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

६ राष्ट्रिय महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई बिदाई गरेको थियो । मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ ।

Logo