सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।
प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘यस्तो हल्लाको पछि नलाग्नु होस्, यो हल्ला जसरी आयो त्यसैगरि जान्छ ।’
कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सरकारले मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि ल्याएको र त्यसले पत्रकारको पारिश्रमिक सुनिश्चित गर्ने र अराजकता नियन्त्रण गर्ने बताए ।
वाम चुनावी घोषणापत्रलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन विकासका अवधारणा अघि सारिएको बताउँदै मन्त्री बाँस्कोटाले भने “सामाजिक न्यायसहितको दु्रत आर्थिक विकासको नीति र समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला बजेटले निर्माण गरेको छ, अब आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट राष्ट्रिय पूँजीको विकास गरी नेपालीलाई उन्नत समाजवादी दिशातर्फ अघि बढाउने सङ्कल्प हामीले लिएका छौँ ।”
शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा नीति र कार्यक्रम अघि सारी अब जीवनस्तर गुणात्मक सुधार गर्न बजेटले सम्बोधन गरेको उनको भनाइ थियो । सामाजिक सुरक्षाभत्ता वृद्धिलगायत सरकारले ल्याएको बजेटले विपक्षी आत्तिएकाले अनावश्यक हल्लाको पछि नलाग्न उनले आग्रह गरे ।































प्रतिक्रिया