इलाम २ मतगणनाः ‘हिरोको रोल’ देखाउने पखाईंमा घण्टी र मुढा

इलाम २ मतगणनाः ‘हिरोको रोल’ देखाउने पखाईंमा घण्टी र मुढा

केन्द्रबिन्दु
490
Shares

काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाएका छन् । आइतबार दिउँसो १२ बजेबाट जारी मतगणनामा अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना जारी छ । सुरुवाती २ वडामा कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता बनाएको भएपनि वडा नम्बर ३ र ४ को मतगणनापछि एमालेका नेम्वाङ अघि लागेका हुन् ।

ताजा अवस्थामा एमालेका सुहाङ हजार मतले अघि लागेका छन् । उनले ३ हजार ७८३ मत पाएका छन् भने कांग्रेसका खड्काले २ हजार ७८२ मत प्राप्त गरेका छन् । तेस्रोमा पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू छन् । उनले ७८४ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले ५६१ मत प्राप्त गरेका छन् ।

तर, अहिले तेस्रो स्थानका लागि भिडिरहेका पहिचान पक्ष र रास्वपा भने ‘कोर एरिया’को पखाईंमा रहेका छन् । अहिले ग्रामिण भेगको मतगणना जारी रहेको र शहरी क्षेत्रमा ह्वात्तै भोट बढ्ने रास्वपाको अपेक्षा छ। रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौला भन्छिन्, ‘४२ वडामध्ये जम्मा ३ वडाको मत गनिँदै छ, त्यो पनि गाउँ एरियाको । तसर्थ समर्थक नआत्तिँदा हुन्छ, विरोधी नमात्तिँदा हुन्छ । हिरोको रोल पछि आउँछ ।’

यस्तै पहिचान पक्ष पनि ‘हिरोको रोल’काे पखाईंमा छ। उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले लेखेका छन्, ‘हिरोको खेल लास्टमा आउँछ । १००० मत गन्दा किन रमाको ? माङ्सेबुङ, चुलाचुली, इलाम र मंगलबारे, यी चारको नतिजा हेर्न मन लाको छ !’

Logo