काठमाडौं । नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुले स्थापना दिवसको अवसर परोर विद्यार्थी महोत्सव गर्ने भएको छ।
अनेरास्ववियुले आगामी जेठ १ देखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महोत्सव आयोजना गर्न लागेको हो।
स्थापना दिवसलाई ऐतिहासिक बनाउने हेतुले विद्यार्थी महोत्सव गर्न लागेको अनेरास्ववियुका उपाध्यक्ष तथा कार्यक्रम संयोजक धर्म गिरीले बताए।
‘सूचना प्रविधीमा नेपालले के गर्दै छ ? विश्व जगत एआइमा पुग्दा नेपाल कहाँ पुग्यो ? कहाँ चुक्यो? भन्ने विषयको खोजका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हामीले विश्वास लिएको छौं’ उनले भने।
महोत्सवमा विभिन्न १४ वटा कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ। विश्वविद्यालयका इनोभेटिभ प्रतिभाहरुमार्फत विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने हेतुले महोत्सवको आयोजना गरेको बताएको आयोजकले करियर काउन्सिलिङ गर्ने, युवा सांसद बहस र संवाद, सांस्कृतिक प्रदर्शनी ,विश्वविद्यालय जानकारी, कानूनी शिविर,लाइभ पेन्टिङ प्रतियोगिता,चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण लगायतका विविध चौधवटा कार्यक्रमलाई महोत्सवमा समावेश गरेको बताएको छ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालका अनुसार विद्यार्थीलाई पढाईंसँगै सिप र उद्यमसँग जोड्न महोत्सवले भूमिका खेल्नेछ।
‘नयाँ पुस्ताका विद्यार्थीलाई देशको संस्कृतिसँग जोड्न विविधतायुक्त कल्चरल प्रस्तुतसहित यावत् कुराको ज्ञान र अध्ययनको केन्द्र यस महोत्सवमा राख्ने र देखाउने जमर्को गरेका छौं’ अध्यक्ष बडालले भने।
महोत्सवमा नेपालमा विद्यार्थीको मूल्य, गुणस्तर र प्रवर्धनका लागि शिक्षाविद्, विद्यार्थी र सरोकारवालाहरूसँग छलफल समेत गर्ने जनाएको छ ।





























प्रतिक्रिया