‘राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ’ -चित्रबहादुर केसी

‘राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ’ -चित्रबहादुर केसी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक नेतृत्व जनजीविकाको सवालबाट विचलित भएका कारण मुलुकमा गणतान्त्रिक व्यवस्था पनि अफाप भयो भन्ने जमात बढेको बताएका छन् ।

काठमाडौंमा बुधबार १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेकपा मसालको नवौं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनले वर्तमान व्यवस्थाबाट समाजवादको बाटोमा जान ढिला गर्न नहुने बताएका हुन् । राष्ट्रको चाबी समातेका नेताहरु नै भ्रष्ट भएपछि गणतन्त्रविरुद्धको जनमत बढेको आरोप पनि उनले लगाए ।

उनले भने, ‘राजनीति, पार्टीहरुप्रति, नेताहरुप्रति र लोकतन्त्र, गणतन्त्रप्रति जनताहरुको व्यापक घृणा र निराशा छ । त्यसैले हामीले यही लोकतन्त्र र गणतन्त्रबाट नेपाली जनताको समस्या हुने भए त दैनिक तीन हजार पाँच सय नेपाली बाहिर भाग्ने थिएनन् । अहिले पनि यो लोकतन्त्र गणतन्त्रलाई सिध्याउनुपर्छ भन्ने ठूलो जनमत छ । त्यसको कारण जसले यो व्यवस्था ल्याएका हुन् उनीहरु नै भ्रष्ट छन् । जसले राष्ट्रको चाबी समातेको छ त्यो नै भ्रष्ट भएपछि सबै नीतिको माउ नीति राजनीति, जुन देशका अगुवाइ गर्नेहरु भ्रष्ट हुन्छन् । ती भ्रष्टप्रति जनताको घृणा छ ।’

यस्तै, उनले पृथ्वीमा भएका सबै मानिसलाई खान, लाउन, बिरामी हुँदा औषधि गर्न पुग्ने सम्पत्ति भए तापनि जनता पीडामा बाँच्नु परेको भन्दै १० प्रतिशतले सबै सम्पत्ति आफ्नो हातमा राखेको बताए । कम्युनिष्ट पार्टी पनि पुँजीवादी पार्टीमा परिणत हुने क्रम बढ्दै गएको भन्दै उनले त्यसको परिणामस्वरुप वर्तमान राजनीति अस्थिर अवस्थामा पुगेको भनाइ राखे ।

लोकतन्त्र र गणतन्त्रलाई प्रयोग गरेर अहिलेको भन्दा राम्रो समाजवाद निर्माणको प्रक्रियामा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘नेपालमा अहिले केही पनि हुँदैन भन्ने भाष्य निर्माण हुँदै गएको छ । सबै बाहिर जाने क्रम बढ्दो छ । अहिले देशमा गम्भीर संकट छ । लोकतन्त्र, गणतन्त्रको काम छैन भन्ने हल्ला पनि बढ्दो छ । लोकतन्त्र, गणतन्त्रलाई चारैतिरबाट हमला भइरहेको छ । हामीले लोकतन्त्र, गणतन्त्रलाई प्रयोग गरेर अहिलेको भन्दा राम्रो समाजवाद ल्याउने हो ।’

राजनीतिक नेतृत्वले मुलुकको निराशा चिर्नेगरि काम गर्नुपर्ने चुनौतीलाई गम्भीर भएर मनन गर्नुपर्ने उनले बताए ।

Logo