कोशी प्रदेश सरकारका विकासका कार्यक्रम नमूना छन्: मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका विकासका कार्यक्रम नमूना छन्: मुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
42
Shares

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढंगका विकासको अभ्यास गर्न लागिपरेको बताएका छन्।

भौतिक पूर्वाधारको विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा ठूलो समस्या उत्पन्न गराएको, मानवीय सम्वेदना र सामाजिक मूल्य मान्यतासहितको विकासमा पछि परिरहेको मुख्यमन्त्री कार्कीको भनाई छ।

झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ को वडा कार्यालय भवन उदघाटन तथा जग्गादाताहरुलाई सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले अघि सार्दै गरेका विकासका केही नमूनाहरुको बारेमा पनि चर्चा गरे।

कांग्रेस नेता समेत रहेका मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले शुरु गरेको बालबालिकाको नि:शुल्क उपचार सम्बन्धिको कार्यक्रमबारे आफ्नै पार्टीका कतिपय नेताहरु र मानवीय संवेदनालाई भोट माग्ने आधार बनाउने मानिसहरुले आलोचना गरेको भनि असन्तोष व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले अगाडि भने अस्पतालमा जन्मिएको बच्चालाई घर लैजानुपर्नेमा घाट लानुपर्ने अवस्थाको अन्त्य गर्न चाह्यौं, बच्चा जन्मिएपछि ऋण काड्न साहु महाजनका घरमा , नेताका घरमा हारगुहार माग्न जानुपर्ने बाध्यताको अन्त्य चाह्यौं उनीहरु यहाँ त्यही कारणबाट आफ्नो भोट घट्ने भो भनेर छटपटाइरहेका छन्।

उनले हरेक पालिकाबाट एक जना बालीविज्ञान र पशु विज्ञानको अध्ययन गरेर पालिका पालिकामै डाक्टर उत्पादन गरी दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक बिषयको पढाईमा अनुदान दिने कार्यक्रम अघि बढाएको, हात्ती प्रभावित क्षेत्रमा लगाइने कृषि बालीको बीमा गरिदिने जस्ता कार्यक्रमहरुसहितको बजेट कार्यक्रम ल्याउने प्रदेश सरकारको तयारी रहेको उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले कागजी दस्तावेज मिलाएर त्यसैका आधारमा सरकारको अनुदान दुरुपयोग गर्ने अभ्यासले समग्र व्यवस्थाप्रतिनै निराशा पैदा गराइरहेको भन्दै त्यस किसिमका भ्रष्टाचारमा सहयोग पुग्ने खालका कार्यक्रमहरुलाई प्रदेश सरकारले निस्तेज गर्ने प्रतिबद्धता जनाए।

उनलाई सो अवसरमा शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलालले समग्र शिवसताक्षी नगरको विकास सम्बन्धिका योजनाहरुको फेहरिस्तसहित ध्यानाकर्षण पत्र बुझाउँदै सडक, पूल, क्याम्पस, बिद्यालय, स्वास्थ्य सेवा लगायतका विषयमा आवश्यक पहलकदमीसहित प्रदेशका योजनाहरुमा समेटिदिन माग गरे।

मुख्यमन्त्री कार्कीले वडाका तर्फबाट राखिएको मागहरुमा आफ्नो ध्यान आकर्षण भएको जनाउँदै प्रतिबद्धता व्यक्त गरे। उनले लुट्ने प्रवृत्ती हाबी भइरहेको समाजमा समाजका लागि दान गर्ने काम आफैंमा महान कार्य भएको भन्दै जग्गादाता परिवारको प्रशंसा गरे।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले नगरका विबिध आवश्यकता र विकासका विविध पक्षबारेमा जानकारी गराउँदै शुभकामना मन्तव्य राखेकी थिइन।

कांग्रेस झापाका सभापति देउकुमार थेवेले पनि वडा कार्यालयका लागि जग्गादान गर्ने दाताहरुको प्रशंसा गरे। सो अवसरमा जग्गादाताहरु सुरज राजवंशी, दुर्गाप्रसाद गुरागाइँ, चन्द्रमणी पौडेल र देवनारायण भण्डारीलाई मुख्यमन्त्री कार्की , उपप्रमुख कार्की र वडाध्यक्ष खुलालसहितले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

Logo