माधव नेपाल र भीम रावलले किन गरे अमेरिकी राजदूतको विरोध ?

माधव नेपाल र भीम रावलले किन गरे अमेरिकी राजदूतको विरोध ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत र्‍याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । वरिष्ठ नेता नेपालले अन्तराष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित हुने भएकाले संचालन नगर्न पनि राजदुत बेरीको ध्यानाकर्षण गराए ।

बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पारे । वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेत गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन त्यसको पालना गर्नुपर्ने बताए ।

सत्तारुढ नेकपाकै अर्का नेता भिम रावलले कूटनीतिक मर्यादा विपरित गएर अमेरिकी राजदुत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिए । उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दावी गरे ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिविना अमेरिकी राजदुत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पारे । उनले कूटनीतिक मर्यादा प्रतिकूल हुने खालका त्यस्ता गतिविधिमा संलग्न नहुन पनि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई सचेत गराए ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिई राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अधिकार नभएको स्पष्ट पारे । उनले कूटनीतिक मर्यादाको सीमा रहेर आफ्ना गतिविधि संचालन गर्न पनि नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुको ध्यानाकर्षण गराए ।

अमेरिकी राजदुत बेरीले आगामी सोमबारबाट सुरु गर्न लागेको ‘राजदुतसँग गफगाफ’ संवाद कार्यक्रमको सन्देश उनकै फेसबुक पेजमार्फत् सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको हो । सांसद कर्णले कुनै पनि बहानामा कूटनीतिक मर्यादाको उलंघन गर्ने काम राजदुतहरुले गर्न नहुने पनि स्पष्ट पारे ।

Logo