राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संयुक्त राष्ट्रसंघीय फोरममा जलवायु परिवर्तनबाट नेपालमा परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे आवाज उठाएकी छन् ।
राष्ट्रसंघीय एसिया प्यासिफिक आर्थिक र सामाजिक आयोग (यूएनइस्केप)ले थाइल्याण्डको राजधानी बैंककस्थित यूएन क्षेत्रीय कार्यालय (यूएन कन्फरेन्स सेन्टर)मा आयोजना गरेको दुई दिने फेमिनिष्ट फोरममा सहभागिता जनाउँदै सांसद गौतमले जलवायु परिवर्तनबाट नेपाली महिलाले भोग्नेपरेको असर र वित्तीय अनुदानको पहुँचको विषयमा आफ्नो धारणा राखेकी हुन् । खासगरी अल्प विकसित अथवा विकासशील मुलुकका महिलालाई राष्ट्रसंघीय सहायताको पहुँचमा कसरी पुर्याउने विषयमा छलफल भएको थियो ।
सांसद गौतमले जलवायु परिवर्तनको प्रभावसँग जोडेर नेपालको समस्या राखेकी थिइन् । फोरममा दुबईमा कोप२८ मा स्थापना गरिएको ‘लस एण्ड ड्यामेज फण्ड’ (जो विकसित देशहरुले जलवायु परिवर्तनबाट प्रभावित देशहरुलाई क्षतिपूर्तिका लागि बनाइएको हो) फण्डलाई कसरी व्यवहारिक कार्यान्वयन गर्न सकिन्छ, महिलालाई कसरी सम्बोधन गर्ने र यो कतिको महत्त्वपूर्ण छ भन्ने कोणबाट छलफल भएको उनले जानकारी दिइन् ।
विभिन्न देशका चार सय प्रतिनिधि सहभागी फोरममा सांसद गौतमलले वक्ताका रुपमा नेपालको समस्या राखेकी थिइन् । एउटा सेसनमा गौतमसँगै फिलिपिन्सका पूर्वअर्थमन्त्री र भारतीय मूलको युएई नागरिक सना कपाडिया (जसले क्लामेट्स इनिसियटिभमा काम गर्ने महिलाहरुलाई फण्ड दिँदै आउनुभएको छ) वक्ता थिए । उक्त सेसनमा सांसद गौतमले राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले नेपाल भ्रमण गरेर, नेपालका हिमालको कहालीलाग्दो अवस्थाबारे दिएको अभिव्यक्ति स्मरण गराएकी थिइन् ।
‘हामीले यहाँ लस एण्ड ड्यामेजको चर्चा गर्नुभन्दा पहिला नेपालमा क्लाइमेट क्राइसिस कतिको छ भन्ने बुझ्न जरुरी छ,’ उनले कार्यक्रममा भनिन्, ‘युएनको महासचिवले नेपालको जलवायु परिवर्तनबारे हाम्रै संसदमा आएर सम्बोधन गर्नुभएको हो । पछि कोप २८ मा पनि उहाँले नेपालको हिमाल रोइरहेको छ भन्नुभयो ।‘
नेपालले धेरै पहिलेदिख जलवायु परिवर्तनको असर भोगिरहे पनि अहिले अन्तर्राष्ट्रिय मान्यता हुनेगरी चर्चा भएको उल्लखे गर्दै गौतमले विकसित राष्ट्रले हामीजस्तो जलवायु संकट सामना गरिरहेको राष्ट्रलाई हेर्न ढिला भएको धारणा राखिन् ।































प्रतिक्रिया