काठमाडाैं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावी गर्नु भएकाे छ ।
नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारले सर्वसत्तावाद ल्याउन खोजे पनि जनताले स्वतन्त्र र लोकतन्त्रका लागि लडेकाले त्यो सम्भव नरहेको बताउनु भएकाे हाे । उहाँले ओली सरकारकै अकर्मण्यताले सडकमा राजाको पक्षमा नारा लागेको भन्दै राजा फर्कने सम्भावना पनि नरहेको दावी गर्नु भयाे । उहाँले वर्तमान सरकारकै कारण भ्रष्टाचार, बलात्कार जस्ता घटना बढिरहेको भन्दै भ्रष्टाचार, बलात्कार जस्ता विकृतिको अन्त्य र सर्वसत्तावादको विरुद्धमा कांग्रेस सडकमा उत्रिएको बताउनु भयाे।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले औषधी खरिदमा भएको भ्रष्टाचारलाई ढाकछोप गरेर सरकारले भ्रष्टाचारलाई नै प्रोत्साहन गरेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकले यसलाई पुष्टि गरिदिएको बताउनु भयाे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ लगायतले सरकार जनताको हितमा खटिनु पर्ने समयमा आफ्नै स्वार्थमा डुबेकाले जनताको पक्षमा कांग्रेस सडकमा उत्रिएको बताउनु भएकाे थियाे। विरोध सभा अघि हेटौंडाको सानोपोखरा, चौकीटोली, जिल्ला प्रहरी कार्यालय चोक र फरेष्ट्री चोकबाट र्याली निकालिएको थियो ।
लोकतन्त्रमाथि कुनै सङ्कट आउन दिँदैनाैं : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि कुनै पनि सङ्कट आउन नदिइने बताउनुभएको छ । कांग्रेसले आज देशव्यापीरुपमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला कार्यसमितिको कार्यक्रममा उहाँले मुलुकमा भ्रष्टाचार, असुरक्षा, महिला हिंसा र पक्षपात बढेको बताउँदै भन्नुभयो, “राज्यको ढुकुटी मासेर कार्यकर्ता पोस्ने र जनतालाई लोभ देखाएर पार्टी प्रवेश गराउने विषय पनि लोकतन्त्रका लागि खतरा हो ।”
सरकारले गाउँ फर्किएका युवालाई रोजगारीको व्यवस्था गर्न नसकी पुनः विदेशिनुपरेको र किसानका समस्या समाधानमा प्रभावकारी काम गर्न नसकेको उहाँको आरोप थियो । सरकारले योजना र सोचविना समृद्धिको नारा मात्रै अघि सारेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “वर्तमान सरकारले जनतालाई प्रभावकारीरुपमा सेवा प्रवाह सकेन, कांग्रेसले आगामी निर्वाचनमा जनतामाझ गएर त्यसको हिसाब किताब माग्नेछ ।”
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले मुलुकमा कोरोना भाइरस सङ्क्रमणको महामारीका बेला पनि स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको आरोप लगाउँदै लोकतन्त्रको संरक्षणका लागि कांग्रेस सडकमा आएको बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा डिला सङ्ग्रौलाले रोग र भोकले ग्रसित जनताका मौलिक अधिकार कार्यान्वयनमा सरकार असफल भएको टिप्पणी गर्नुभयो । सङ्घीय सांसद भीमसेनदास प्रधानले कोरोनाका कारण राज्यका हरेक क्षेत्र प्रभावित भए पनि सरकारले उचित काम गर्न नसकेको आरोप लगाउँदै भ्रष्टाचार भनिएका विषयमा तत्काल छानबिनको माग गर्नुभयो ।
सङ्घीय सांसद राजेन्द्रकुमार केसीले लोकतन्त्रमाथि खतरा देखिएको जनाउँदै काठमाडौँ उपत्यकावासी एकपटक पुनः लोकतन्त्र र परिवर्तनका लागि सडकमा आउनुपर्ने बेला बताउनुभयो । विभिन्न प्लेकार्ड र ब्यानरसहितका जिल्लाका विभिन्न स्थानबाट आएको कांग्रेसको जुलुस राजधानीको शान्तिवाटिकामा भेलामा परिणत भएको थियो ।
राष्ट्रियता र सार्वभौमसत्ता कमजोर भयोः कांग्रेस सहमहामन्त्री डा महत
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले वर्तमान सरकारको कमजोरीले गर्दा राष्ट्रियता र सार्वभौमसत्ता कमजोर भएको बताउनुभएको छ । बिर्तामोडमा आज आयोजित विरोधसभामा पूर्वपरराष्ट्रमन्त्री डा महतले नेपालमा अस्वाभाविकरुपमा विदेशी चलखेल बढेको आरोप पनि लगाउनुभयो ।
सरकारले भ्रष्टाचारलाई बढावा दिएको, कोरोना नियन्त्रणको कार्य प्रभावकारीरुपमा नगरेको र राष्ट्रपतिले सत्तारूढ दलको आन्तरिक विवादमा संलग्न भएको आरोप पनि उहाँले लगाउनुभयो । झापामा कांग्रेसले सरकारको विरोधमा कनकाईको सुरुङ्गादेखि बिर्तामोडसम्म मोटरसाइकल र्याली र सभा गरेको थियो ।
सरकारले जनताको हितमा काम गर्न सकेनः सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताका हितमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । कांग्रेस धनुषाको अगुवाइमा प्रदेश नं २ को सदरमुकाम जनकपुरधाममा निकालिएको विरोध जुलस प्रदर्शनपछिको आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी पूर्वमहामन्त्री सिंहले सङ्घीयता कार्यान्वयनभन्दा सङ्घीयतालाई गलत देखाउने चेष्टा सरकारबाट भइरहेको आरोप लगाउनुभयो ।
सभामा कांग्रेस प्रदेश नं २ का संसदीय दलका नेता रामसरोज यादवले सरकारले भ्रष्टाचारलाई बढावा दिएका आरोप लगाउनुभयो । सङ्घीय सांसद स्मृतिनारायण चौधरीले नियतवश भारतसँगको सीमा बन्द गरिएको आरोप लगाउँदै खोल्न आग्रह गर्नुभयो । विरोधसभामा धनुषाका नेताका साथै प्रदेश र सङ्घीय सांसदको समेत सहभागिता थियो ।
लोकतन्त्र खतरामा रहेको आरोप
गण्डकी– कांग्रेसका नेता अर्जुननरसिंह केसीले कम्युनिष्टका कारण लोकतन्त्र खतरामा रहेको आरोप लगाउनुभएको छ । कांग्रेसद्वारा आज पोखरामा आयोजित विरोध सभामा उहाँले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार एकपछि अर्को गर्दै लोकतन्त्र विरोधी गतिविधिमा लागिरहेको बताउनुभयो ।
कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले वर्तमान सरकारकै कारण भारतीय हस्तक्षेप बढेको जिकिर गर्नुभयो । कांग्रेस कास्कीका पूर्वसभापति एवम् पूर्वमन्त्री यज्ञबहादुर थापाले कांग्रेस तनहुँ घटनाबाट जागेको बताउनुभयो । सभामा कांग्रेसका नेता महादेव गुरुङ र खेमराज पौडेल, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङ, नेपाल महिला सङ्घ पोखरा महानगरका सभापति माया बराल, पार्टीका जिल्ला सभापति कृष्ण केसी, उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराईलगायतले बोल्नुभएको थियो ।
सरकारले जनतालाई शक्तिशाली बनाउन नसकेको आरोप
नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले देखिने गरी परिणाम र परिवर्तन खोजेका जनताको अपेक्षालाई अहिलेको सरकारले पूरा गर्न नसकेको अरोप लगाउनुभएको छ । धनगढीमा भएको कांग्रेसको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद थापाले सच्चिएर काम गर्न पटक पटक गरिएको आग्रहलाई बेवास्ता गरिएको आरोप लगाउनुभयो ।
सरकारलाई सही बाटामा हिँडाउन कांग्रेस सडकमा आएको बताउँदै उहाँले भन्नुभयो, “यो सरकार शक्तिशाली छ तर जनतालाई शक्तिशाली बनाउने काम गर्न सकेको छैन ।”
सभामा पूर्वमन्त्री एवं काङ्ग्रेसका नेता रामजनम चौधरी र नेपाल महिला सङ्घका केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्रले पनि समसामयिक राजनीतिका विषयमा बोल्नुभएको थियो । यसअघि स्थानीय ट्राफिक चोकबाट निस्केको विरोध र्याली पार्कमोडमा पुगेर सभामा परिणत भएको थियो ।
महाधिवेशन गराएर कांग्रेसलाई विश्वासिलो पार्टी बनाउनुपर्छः डा महत
नेपाली कांग्रेसका नेता डा रामशरण महतले महाधिवेशन गराएर कांग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभामा उहाँले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “निष्पक्ष ढङ्गले महाधिवेशन गरेर जनताको विश्वास जित्ने पार्टीका रुपमा कांग्रेसलाई ल्याउन आवश्यक छ ।” कांग्रेस लोकतान्त्रिक, आर्थिक नीति ल्याउन सक्ने र विकासप्रेमी पार्टी भएको उहाँको भनाइ थियो ।
सरकारले संविधान कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै उहाँले अहिलेसम्म संविधान कार्यान्वयनका लागि खासै काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको अधिकारका लागि सङ्घीयतामा तीन तहको सरकार बनाइएको हो तर सबै अधिकार केन्द्रमा नै सीमित गर्न खोजिँदै छ ।”
कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशीलगायतले बोल्नुभएको थियो । अपराह्न १२ः३० बजे भरतपुरको चौबीसकोठीबाट शुरु भएको र्याली पुल्चोक पुगेर विरोधसभामा परिणत भएको थियो ।
इलाम– कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले वर्तमान सरकारलाई काम गर्नका लागि जनताले बहुमत दिए पनि त्यसको दुरुपयोग भएको आरोप लगाउनुभएको छ । सदरमुकाममा आयोजित पार्टीको विरोधसभामा उहाँले विगतका ठूला राजनीतिक उपलब्धि संस्थागत गर्ने काम कांग्रेसले गरेको जिकिर गर्दै अबको जिम्मेवारी पनि कांग्रेसले नै गर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वसांसद केशव थापाले पछिल्लो समय विभिन्न प्रकरणमा सरकार जोडिएको जनाउँदै अब विकल्प सोच्नुपर्ने बाध्यता रहेको बताउनुभयो । कांग्रेसले सरकारको विरोधमा प्ले कार्डसहितको र्याली निकालेको थियो ।
रसुवा –प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले कांग्रेसले लोकतन्त्रको संरक्षणका लागि निरन्तर रुपले अघि बढ्ने तथा विकृतिविसङ्गतिको विरोधमा सदैव खबरदारी गर्ने बताउनुभयो । सदरमुकाम धुञ्चेमा आयोजित विरोधसभामा प्रदेशसभा सदस्य प्रेम तामाङ, कांग्रेस पूर्वजिल्ला सभापति लामाकार्पु तामाङ, जिल्ला समिति सदस्य जनकजीवन उपाध्याय, उपेन्द्र लम्साल, राजु तितुङलगायतले विरोधसभामा सम्बोधन गर्नुभएको थियो ।
पर्सा– यहाँ आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, महँगीप्रति सरकार गम्भीर नभएको र यसलाई रोक्न सरकारले ठोस कदम नचालेसम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो । उहाँले संवैधानिक अङ्गलाई कमजोर नबनाउन र प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकारलाई दबाब दिन कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको बताउनुभयो ।
कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको अध्यक्षतमा सम्पन्न भएको कोणसभामा कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया लगायतले अपराध तथा महँगी नियन्त्रण, किसानलाई मलखादको आपूर्ति र कोरोनाकालमा आमजनतालाई दिनुपर्ने आवश्यक सहयोग दिन सरकार चुकेको आरोप लगाउनुभयो ।
राष्ट्रिय झण्डाको दुरुपयोग भनी आपत्ति
सिद्धार्थनगर– पछिल्लो समय विभिन्न समूहले राजासंस्था ब्युँताउने भन्दै सडकमा नारा जुलुस निकालेको प्रति नेपाली कांग्रेसका नेताहरुले आपत्ति जनाउनुभएको छ ।
कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताले लडेर ल्याएको व्यवस्था सङ्घीय गणतन्त्रप्रति नै विश्वास घटाउने काम वर्तमान सरकारले गरेको आरोप लगाउनुभयो ।
कांग्रेस नेता तथा प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वर्तमान सरकारकै कारण सङ्घीय लोकतन्त्र खतरामा पुगेको आरोप लगाउनुभयो । कांग्रेसका नेता रामचन्द्र ढकालले राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “राजावादीहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै सडकमा तमासा गर्दै हिँडेका छन् तर सरकार आँखा चिम्लिएर बसेको छ ।”
कांग्रेस रुपन्देही सभापति तथा पूर्वमन्त्री अब्दुल रज्जाकले सरकार जनपक्षीय हुन नसकेको बताउनुभयो । विरोधसभामा सांसद प्रमोदकुमार यादव, संविधानसभा सदस्य इस्तियाक अहमद खान, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेलगायतले सरकारको आलोचना गर्नुभएको थियो ।
सरकारले जनताको आवश्यकतामा ध्यान नदिएको महामन्त्री डा कोइरालाको आरोप
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकार जनताका चाहना र आवश्यकता अनुसार नचलेको आरोप लगाउनुभएको छ । कांग्रेस मोरङद्वारा आयोजित विरोधसभामा उहाँले सरकार कोभिड–१९ लाई नियन्त्रण गर्न असफल भएको र कोरोनाबाट नागरिकलाई जोगाउन खासै काम नगरेको आरोप लगाउनुभयो ।
अहिलेको सरकारले करीब तीन वर्षका अवधिमा पनि रचनात्मक काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री डा कोइरालाले सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेतालाई पनि दुर्व्यवहार गरिएको भनी आपत्ति जनाउनुभयो ।
उहाँले आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउन तरुणहरुलाई एक जुट भएर पार्टीको काममा लाग्न निर्देशन दिँदै डा कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाइने सङ्कल्प गर्नुभयो । सो विरोधसभा हुनुभन्दा पहिले स्थानीय शहीद रङ्गशालाबाट निस्किएको र्यालीले बजारका विभिन्न भागको परिक्रमा गरी ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक संविधानको रक्षा गरौँ’ नारा लगाएका थिए ।
कांग्रेसलाई सत्ता प्यारो छैन : डा रिजाल
दमौली– कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताउनुभएको छ । कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गर्नुभयो । “गएको निर्वाचनमा कांग्रेस थोरै मतले पछाडि परेको हो, अझै पनि जनताको भरोसा यो पार्टीमा छ”, उहाँले भन्नुभयो । वर्तमान सरकार ५ वर्षसम्म नै चलोस् भन्ने कांग्रेसको शुभेच्छा रहे पनि सरकारले जनभावना नबुझेको डा रिजालको आरोप थियो ।
संविधानको रक्षाका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै पूर्वमन्त्री डा रिजालले जनताका पक्षमा काम गर्न सरकारलाई सुझाव दिनुभयो । सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोज्ने कार्य कांग्रेसलाई असह्य रहेको बताउनुभयो ।
कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले सरकारले राम्रो काम नगरेको जनाउँदै सोही कारण कांग्रेस आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । महासमिति सदस्य रामचन्द्र पोखरेलले कांग्रेसलाई निषेध गर्न खोजिएको जनाउँदै सोही कारण आन्दोलन गर्नुपरेको बताउनुभयो । कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभासद् डोबाटे विक, सरिता गुरुङलगायतले सरकार जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो ।
कलैया– कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले वर्तमान सरकार असफल भएको आरोप लगाउनुभएको छ । कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री मन्सुरले नेपाली जनताको भवना विपरीत कार्य गर्दै मुलुकमा भ्रष्टाचार र बेथिति बढाएको आरोप लगाउनुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री उमाकान्त चौधरीले तराई–मधेशका जनताको हित कांग्रेसले मात्र गर्ने जिकिर गर्दै मधेशवादी दलले पनि सत्ता र शक्तिका लागि मधेशका जनतालाई ठगिरहेको आरोप लगाउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य राधेचन्द्र यादवले सरकारल प्रेस, अदालत, संवैधानिक निकाय, प्रहरी, प्रशासन नियन्त्रणमा लिएर देशमा शासन चलाउन लागेको आरोप लगाउनुभयो ।
कांग्रेस बाराका कार्यवाहक सभापति सुरेन्द्रप्रसाद कलवारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केन्द्रीय सदस्य वृजलाल यादव, पूर्वमन्त्री कलावती पासवान, तत्कालीन संविधानसभा सदस्य लालबाबु सिंह, मधु शाही, पार्टीका सचिव मनोज भट्ट, हरेन्द्र यादव, कोषाध्यक्ष चन्द्रशेखर यादव, क्षेत्रीय सभापति सुनिल गुप्ता, विजयशङ्कर यादव, निगगढ नगरपालिकाका सभापति मधेशी कुँवर, कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादव, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, तरुण दल बाराका अध्यक्ष लुकेश सिंहलगायतले सरकारको विरोधमा आफ्नो कुरा राखेको कांग्रेसका महासमिति सदस्य उपेन्द्र जसवालले जानकारी दिनुभयो ।
संसद् अधिवेशन छिटो बोलाउन कांग्रेस उपसभापति निधिको माग
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन सरकारसँग माग गर्नुभएको छ । कांग्रेस जिल्ला समिति भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रममा उहाँले देशमा भएका समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने भएकाले तत्काल संसद् बैठक बोलाउन माग गर्नुभयो ।
कांग्रेससँग निर्वाचन कुर्नाको विकल्प नभएको जनाउँदै उहाँले आगामी निर्वाचनको तयारीका लागि गाउँगाउँमा जान कार्यकर्तालाई आह्वान गर्नुभयो । करीब तीन वर्षका अवधिमा जनताले दिएको मतको सरकारले कदर गर्न नसकेको र जनताले चाहेअनुसार सरकार नगएको आरोप लगाउँदै उहाँले प्रतिपक्ष दलले शिलान्यास र उद्घाटनसमेत गर्न नहुने गरी रोक्नु गलत भएको जिकिर गर्नुभयो ।
सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारीको व्यवस्था, कोरोना नियन्त्रणजस्ता विषयमा गम्भीर हुनुपर्ने उहाँले औँल्याउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री सीता गुरुङ, आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले सरकारले जनभावनानुकूल काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीलाई नवीन ऊर्जा मिलेको छः पार्टी सभापति देउवा
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साेमबार देशव्यापीरुपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाउनु भएकाे छ। साँझ विज्ञप्ति जारी गरी उनले यो ऊर्जालाई अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढङ्गले अघि बढ्ने उद्घोष गर्नु भएकाे हाे ।
सभापति देउवाले प्रदर्शनमा भएको सहभागिताले एकाइसौँ शताब्दीका नेपाली जनता लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत प्रकट भएको उल्लेख गर्नु भयाे । उनले प्रदर्शनमा योगदान पुर्याउने सबैलाई बधाई र उनीहरुप्रति सम्मान पनि व्यक्त गर्नुभयाे । राससकाे सहयाेगमा





























प्रतिक्रिया